नाइजर : मध्य नाइजेरियामा अपहरण र हत्यामा संलग्न सशस्त्र आपराधिक गिरोहविरुद्ध गरिएको सुरक्षा कारबाहीमा २ सयभन्दा बढी डकैत मारिएको सरकारी अधिकारीले बताएका छन् । कोगी राज्य सरकारका अनुसार शनिबारदेखि सुरु भएको धेरै एजेन्सीहरू संलग्न बृहत् अभियानमा केही व्यक्तिहरू पक्राउ पनि परेको अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
प्रहरीले उपलब्ध गराएको हेलिकप्टरबाट खिचिएको भिडियोमा जङ्गल क्षेत्रभित्रको एक बस्तीमा आगलागी भइरहेको देखिएको छ । साथै डकैतहरूका कयौँ शिविरहरू ध्वस्त पारिएको छ । उत्तर पश्चिम नाइजेरियामा डकैत गिरोहले वर्षाैंदेखि फिरौतीका लागि अपहरण र हत्या गर्दै आएका छन् । तर पछिल्लो समय यस्ता घटना देशको अन्य क्षेत्रमा पनि बढेका छन् ।
हालैका महिनाहरूमा विद्यालयलाई निशाना बनाएर सामूहिक अपहरणका घटना बढेपछि सरकारले सुरक्षा कारबाही कडा बनाएको छ । गएको महिना अधिकारीहरूले नोभेम्बरमा नाइजर राज्यको एउटा विद्यालयबाट पक्राउ परेका विद्यार्थी र शिक्षकहरूलाई अपहरणकारीको पन्जाबाट मुक्त गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij