नेपालको लोकतान्त्रिक अभ्यासमा पछिल्ला केही वर्षयता न्यायालय, प्रशासन र राजनीतिका गतिविधिहरू अत्यन्तै चासोका विषय बनेका छन्। यही सन्दर्भमा रवि लामिछानेलाई सङठित अपराध मुद्दामा थुनामा राखिएको घटनाले समाजलाई पुनः दुई धारमा बाँडिदिएको छ।
एकातिर कानूनी प्रक्रियालाई न्यायिक स्वतन्त्रताको प्रश्नको रूपमा हेरिएको छ भने अर्कोतिर यो घटनालाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरिँदैछ। तर जस्तोसुकै दृष्टिकोण होस्, यो विषयले देशको न्यायिक, राजनीतिक र नैतिक पाटोमा गम्भीर प्रश्न उठाएको छ – के न्याय केवल कानूनी दस्तावेजमा सीमित छ, वा त्यसको आत्मा जनअपेक्षासँग पनि गाँसिनुपर्छ ?
कानूनी पक्ष : धरौटीको अधिकार र निर्दोषको सिद्धान्त
नेपालको संविधान र मुलुकी अपराध संहिता अनुसार, कुनै पनि अभियुक्तलाई अदालतले दोषी ठहर नगरेसम्म उसलाई निर्दोष ठानिन्छ। यही कानूनी सिद्धान्तका आधारमा रवि लामिछानेले उच्च अदालतमा धरौटी माग गर्दै निवेदन दिएका छन्।
उनीमाथि लगाइएको ‘सङठित अपराध’को आरोप गम्भीर श्रेणीको हो, तर प्रमाण र प्रक्रियाले अझै अन्तिम रूप पाएको छैन। यस्तो अवस्थामा लामो समयसम्म थुनामा राखिनु न्यायको भावनासँग मेल खान गाह्रो हुन्छ।
न्यायालयले हरेक नागरिकलाई समान व्यवहार गर्नुपर्छ, तर साथसाथै उसको सामाजिक प्रभाव, जिम्मेवारी र मुद्दाको प्रकृति पनि सन्तुलित रूपमा हेरिनुपर्छ। रवि लामिछाने न केवल राजनीतिज्ञ हुन्, उनी सञ्चारकर्मीबाट जननेता बनेका पात्र हुन्।
लाखौँ जनताको भरोसा र भावनासँग उनको सम्बन्ध जोडिएको छ। त्यसैले अदालतले यो तथ्य पनि बेवास्ता गर्न सक्दैन कि उनी केवल ‘व्यक्ति’ होइनन्, एक जनआन्दोलनको प्रतीक हुन्।
राजनीतिक पृष्ठभूमि र सामाजिक विभाजन
रवि लामिछानेले स्थायी राजनीति प्रवेश गर्दा धेरैले उनलाई आशाको पात्रका रूपमा हेरे। पुराना पार्टीहरूको भ्रष्टाचार, आन्तरिक स्वार्थ र अकर्मण्यताबाट जनता थाकिसकेका थिए। “सिस्टम परिवर्तन होइन, सिस्टम सुधार” भन्ने उनको नाराले नयाँ पुस्तामा आत्मविश्वास जगाएको थियो।
तर आजको अवस्था फरक छ। रवि लामिछानेमाथिको मुद्दाले समाजमा विभाजन गहिरो बनाएको छ। एक समूहले उनलाई ‘सिस्टमविरुद्धको स्वर’ भएकोले प्रतिशोधी राजनीति अन्तर्गत फसाइएको दाबी गर्छ, भने अर्को समूहले कानूनी प्रक्रियाको सम्मान गर्नुपर्ने बताउँछ। यस्तो द्वन्द्वले न्यायको मूल आत्मा – निष्पक्षता – नै धुमिल बनाइरहेको छ।
नेपालमा न्यायालय र प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने प्रयास लामो समयदेखि हुँदै आएको छ, तर जब चर्चित व्यक्ति मुद्दामा पर्छन्, त्यतिबेला संस्थागत निष्पक्षता परिक्षणमा पर्छ। रविको मुद्दा त्यही परिक्षणको एउटा उदाहरण हो।
बालेन र हर्क जस्ता पात्रले किन नेतृत्व लिन सकेनन् ?
राजनीतिक र सामाजिक प्रभाव भएका बालेन शाह र हर्क साम्पाङ जस्ता पात्रहरू पनि जनता बीच आशाको स्वरूपमा उदाएका थिए। तर अहिलेको संवेदनशील घडीमा बालेनको मौनता र हर्कको अहम्ता प्रश्नको विषय बनेको छन।
यस्ता समयमा जनता अपेक्षा गर्छन् कि सशक्त पात्रहरू एकअर्काको पक्षमा होइन, सिस्टमको न्यायिक सुधार र पारदर्शिताको पक्षमा एक स्वरमा बोलून्।
तर जब बोल्ने ठाउँमा नबोल्ने र नबोल्ने ठाउँमा बिबादास्पद कुरा बोल्नाले समाज यी दुई पात्र प्रती शंका गर्ने स्थानमा पुगेको देखिन्छ१ यस्तो हुदा , समाजमा असुरक्षा र निराशाको भावना बढ्छ।यस्तो हुदा समाजले फेरि पनि रबि को खोजी गरिरहेको आभास हुन्छ। रविको मुद्दा कुनै दल वा व्यक्ति मात्रको विषय होइन, यो प्रणाली र न्यायमाथिको विश्वासको विषय हो।
अदालतको भूमिका : केवल फैसला होइन, विश्वास निर्माण
अदालतले कुनै पनि मुद्दामा अन्तिम सत्यको घोषणा गर्ने अधिकार राख्छ। तर अदालतको जिम्मेवारी केवल फैसला सुनाउनेमा सीमित हुँदैनस न्यायिक विश्वास कायम राख्नु पनि उसको दायित्व हो। जब समाजमा विभाजन गहिरो हुन्छ, अदालतले छिटो, पारदर्शी र प्रमाणमाथि आधारित निर्णय दिनु अत्यावश्यक हुन्छ।
रवि लामिछानेको मुद्दा लामो समय अल्झिँदा त्यसले न केवल उनको राजनीतिक भविष्यमा असर गर्छ, बरु जनताको न्यायप्रति भरोसामा पनि चोट पुर्याउँछ। अदालतले प्रमाण र प्रक्रिया अनुसार छिटो निर्णय गरेर बास्तविकता उजागर गर्न सकेमा, आज विभाजित समाज फेरि एकाकार हुन सक्छ।
न्याय र निष्ठा बीचको द्वन्द्व
न्याय प्रणालीमा निष्ठा र कानूनी कठोरता बीच सन्तुलन खोज्नु सजिलो छैन। धेरैपटक कानूनको अक्षरले कठोर निर्णय माग्छ, तर न्यायको आत्माले दया र विवेकको आग्रह गर्छ।
रवि लामिछानेको मामिलामा पनि यही द्वन्द्व देखिन्छ। एकातिर कानूनी प्रक्रिया अगाडि बढ्नुपर्छ, अर्कोतिर निर्दोष व्यक्तिलाई अनावश्यक थुनामा राख्नु अन्यायको पराकाष्ठा हो।
त्यसैले अदालतले रवि लामिछानेको धरौटी निवेदनलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ। यदि उनको दोष प्रमाणित नभएको अवस्थामा थुनामा राखिएको हो भने, त्यो न्यायिक अनुचितता ठहरिन्छ। किनकि लोकतन्त्रमा कानून जनताको लागि हो, जनता कानूनका लागि होइन।
निष्कर्ष : पारदर्शिता र एकताको बाटो
आज नेपाल संक्रमणको अवस्थामा छ – राजनीतिक अस्थिरता, आर्थिक संकट र सामाजिक विभाजन एकसाथ बढिरहेका छन्। यस्तो संवेदनशील अवस्थामा न्यायालयले केवल कानूनी निर्णय मात्र होइन, सामाजिक सन्देश पनि दिनुपर्छ।
रवि लामिछानेको मुद्दा छिटो निर्णय गरेर वास्तविकता उजागर गर्नु अदालतको नैतिक जिम्मेवारी हो। यसले जनताको विश्वास पुनः स्थापित गर्नेछ र विभाजित समाजलाई एकताको बाटोमा लैजानेछ।
यदि रवि दोषी छन् भने प्रमाणसहित कठोर निर्णय दिइयोस्स र यदि निर्दोष छन् भने तत्काल स्वतन्त्रता दिइयोस्। न्याय ढिलो हुनु पनि अन्याय हो। त्यसैले यो मुद्दा अब ढिलाइ होइन, पारदर्शी र छिटो निष्कर्षको माग गर्छ।
नेपालको भविष्य न्याय, निष्ठा र पारदर्शितामा टेकेर मात्र सुरक्षित हुन सक्छ। अदालतले त्यस दिशातर्फ अग्रसर कदम चालोस् — ताकि आजको पीडा भोलिको विश्वास बन्न सकोस्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij