Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

माडीमा पहिलोपटक शालक सम्मेलन गरिदै

माडीमा पहिलोपटक शालक सम्मेलन गरिदै

भरतपुर : लोपोन्मुख अवस्थामा रहेको स्तनधारी जनावर शालकको संरक्षणको लागि नेपालमै पहिलोपटक माडीमा शालक सम्मेलन गरिने भएको छ । शालक संरक्षण र प्रवद्र्धन गर्ने हेतुले डिभिजन वन कार्यालय चितवनको अगुवाइमा यही माघ २६ गते माडी रिसोर्टमा प्रथम बागमती शालक सम्मेलन गर्न लागिएको कार्यालयका प्रमुख विष्नुप्रसाद आचार्यले चित्रवन न्यूजडटकमलाई जानकारी दिए ।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुन लागेको सम्मेलनमा विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, साना स्तनधारी जनावर संरक्षण तथा अनुसन्धान केन्द्र, ग्रिनउड नेपाल लगायतका आर्थिक सहयोग रहने सम्मेलनमा दश लाख खर्च हुने अनुमान गरिएको डिभिजन वन कार्यालय चितवनका प्रमुख एवम् डिभिजनल अधिकृत आचार्यले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका १५ डिभिजन वन कार्यालयका कर्मचारी, प्राविधिक, डिभिजन अन्तर्गतका सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता, साझेदारी संस्था, सञ्चारकर्मी र सरोकारवालाको सहभागिता रहने उनले बताए ।
शालक जमिनमा बस्ने घिस्रेर हिँड्ने स्तनधारी जनावर हो । यसले आहाराको रुपमा कमिला र धमिरा खाने गर्दछ । बोटविरुवालाई धमिरा लाग्नबाट जोगाउँछ । जमिनमा माटोको उर्वरा शक्ति पनि बढाउँछ । एक वयस्क शालकको एक वर्षमा ७० लाख कमिला र धमिरा खाने गरेको एक अनुसन्धानले देखाएको छ  ।

गर्भधारण भएको ८० देखि १ सय २० दिनमा बच्चा जन्माउने र जन्मेको बच्चाले २ देखि ३ दिनसम्म मात्र आमाको दूध खाने र त्यसपछि कमिला, धमिरा खाएर आत्मनिर्भर बन्दै जाने जिल्ला वन कार्यालयका रेन्जर विमला खनालले बताइन् । यसको मासु खाँदा शरीर दुख्न कम हुने, यसको बाहिरी आवरणबाट सजावटका सामग्रीहरु बनाउन सकिने हुनाले चोरी तस्करीले यसलाई मार्ने गरेको उनले जानकारी दिइन् ।
यसको प्राकृतिक दुश्मन चितुवा हो । यसको औसत आयु १५ देखि २० वर्ष भए पनि औसतमा ८ देखि १० वर्षसम्म बच्न सक्ने पौडेलको भनाइ छ । यो नेपालमा ६१ जिल्ला र बागमती प्रदेशको १३ जिल्लाका राष्ट्रिय तथा सामुदायिक वनमा पाइने डिभिजन वन कार्यालयका वन अधिकृत दिनेश हुमागाईंले जानकारी दिए ।

सम्मेलनमा शालकको डमी, पोष्टर र तस्बिरहरु प्रदर्शन गरिने, समूहगत छलफल गरेर शालक संरक्षणको लागि साझा कार्ययोजना बनाएर सामु्हित प्रतिबद्धता जाहेर गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट