सौराहा, चितवन : विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू करिब ८० प्रतिशत भरिने गरेका थिए, तर यस वर्ष यतिबेला मात्र करिब आधा कोठा बुक भएका छन्। मुख्य पर्यटकीय मौसम फेब्रुअरी, मार्च र अप्रिल मानिने यो समयमा होटल व्यवसायीमा निरासा छाएको छ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले भने, “एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौँ। गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिन्थ्यो, तर यस वर्ष ५० प्रतिशतभन्दा कम मात्रै बुक भएका छन्।”
सङ्घका उपाध्यक्ष गुणराज थपलियाले विदेशी पर्यटक नआउने मुख्य कारण निर्वाचन भएको उल्लेख गरे। उनले भने, “निर्वाचनपछि पर्यटक बढ्ने अपेक्षा छ।”
होटल व्यवसायी सुमन घिमिरेले पनि निर्वाचनको मुखमै पर्यटकको आगमनमा कमी आएको बताए। साथै, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले गत वर्ष दैनिक चार खेप गर्ने हात्ती अहिले केवल एक खेप सञ्चालन गरिरहेको बताए। पर्यटक घट्दा रेष्टुरेन्ट र अन्य पर्यटन गतिविधि प्रभावित भएको उनले बताए।
बनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले भने, “यो मौसममा पर्याप्त पर्यटक आउने भए पनि यस वर्ष कमी आएको छ। तथापि हामी आशावादी छौँ।”
सौराहामा १४८ होटल छन्, जहाँ सात हजार २०० पर्यटक बस्न सक्ने क्षमता छ। प्रत्यक्ष रुपमा ६ हजार ४०० जनाले रोजगार पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउनेको संख्या १२ हजारभन्दा बढी छ। सौराहा पर्यटकका लागि वन्यजन्तु र चराचुरुङ्गी अवलोकन, थारु संस्कृति, र कार्यक्रम/सम्मेलनहरूको आकर्षणको केन्द्र बनेको छ।
यस वर्ष पर्यटकको कमीले व्यवसायी, होटल, रेष्टुरेन्ट, हात्ती सञ्चालनकर्ता र सम्पूर्ण पर्यटन उद्योगमा प्रत्यक्ष असर परेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij