भरतपुर : भरतपुर चितवन जिल्लामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयासको हिस्सा स्वरूप प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्याल आफैं फिल्डमा उत्रिएका छन्। विशेषगरी भरतपुर महानगरपालिकाका मुख्य बजार क्षेत्रहरूमा पार्किङ र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्ने सर्वसहमतिको निर्णयअनुसार काम सुरु गरिएको हो।

ट्राफिक इन्स्पेक्टर अनिल थापा, एसपी गणेश पुरी तथा महानगर प्रहरीको टोलीसँगको संयुक्त अनुगमनमा नारायणगढको लाइन्सचोकदेखि पुल्चोकसम्मका व्यस्त सडक खण्डको अवलोकन गरिएको थियो। जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि कडाइ गर्दै जरिवाना लगाउने तथा आवश्यक परेमा सवारी नियन्त्रणमा लिने कार्य सुरु गरिएको छ।

अनुगमनका क्रममा सर्वसाधारण, सवारी चालक र व्यवसायीलाई ट्राफिक नियम पालना गर्न सचेत गराइयो। यस कदमले बजार क्षेत्रमा देखिएको ट्राफिक जाम कम गर्न, पैदल यात्रु र व्यवसायीलाई सहज वातावरण उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय प्रशासन, ट्राफिक प्रहरी र महानगरपालिकाबीच समन्वय गर्दै दीर्घकालीन समाधानतर्फ पहल भइरहेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले नियमित निगरानी, आवश्यक कडाइ र व्यवस्थापनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij