चितवन : नेपाली कांग्रेस रत्ननगर नगरपालिका वडा नम्बर ९ को वडा कार्य समितिको आयोजनामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बृहत् घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।
वडा सभापति अन्नत अधिकारीका अनुसार “हामी जिताउँछौं हाम्रो वडा” भन्ने नारासहित वडाभर उत्साह र सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुख चिन्हमा मतदान गरी कांग्रेसका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटी लाई अत्यधिक मतका साथ विजयी गराउने लक्ष्यका साथ वडा कार्य समितिले उम्मेदवारबिनै घरदैलो अभियान सञ्चालन गरेको जनाएको छ।
नगर सभापति, वडा सभापति, अगुवा नेता–कार्यकर्ता तथा युवा नेताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम वडा पार्टी कार्यालय भानुचोकबाट सुरु भई गणेशचोक र दोभान टोलका घरबस्तीहरूमा पुगेर कार्यकर्ता भेटघाट गरिएको थियो।
वडा सचिव तथा युवा परिचालन संयोजक सूर्यचन्द्र खतिवडाले चुनावी अभियानलाई प्रभावकारी बनाउन प्रत्येक दिन बाजागाजासहित वडाका सबै टोलबस्तीमा पुग्ने योजना रहेको जानकारी दिए। उनले प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण कार्यकर्ता सक्रिय भएर लागिपरेको बताए।
वडा कार्य समितिले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरी कांग्रेसको नीति, कार्यक्रम तथा समुन्नत नेपाल निर्माणको अभियानबारे जानकारी गराउँदै आएको जनाएको छ।