चितवन : चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला रेनु दाहालको पक्षमा पार्टी प्रवेशको लहर बढ्दै गएको छ। विकास र समृद्धिको एजेन्डासहित अघि बढेकी दाहाललाई समर्थन गर्दै नेपाली कांग्रेसका दुई युवा नेता नेकपा प्रवेश गरेका हुन्।
कांग्रेस युवा नेता राजकुमार तामाङ र बुद्ध घिसिङले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरेका छन्। उनीहरूले रेनु दाहाललाई विजयी बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजकुमार तामाङले विज्ञप्ति जारी गर्दै आफू नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रही लामो समय काम गरेको उल्लेख गर्दै आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे। साथै उनले नेकपा प्रवेश गरी रेनु दाहाललाई जिताउन सहयोग गर्ने बताएका छन्।
रेनु दाहालले ‘तारा’ चुनाव चिन्हमार्फत उम्मेदवारी दिएकी छन्। उनले भरतपुर विकास मोडललाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताउँदै युवा पुस्ताको साथले आफ्नो अभियान थप सशक्त बनेको प्रतिक्रिया दिएकी छन्।
चितवन–३ मा पछिल्लो समय देखिएको पार्टी प्रवेशको क्रमले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij