भरतपुर, चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिनिधि सभा सदस्य निर्वाचनको शान्तिपूर्ण आयोजना सुनिश्चित गर्न निर्वाचनकालीन मदिरा विक्री, वितरण तथा सार्वजनिक सेवनमा पूर्ण रोक लगाएको छ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार, फागुन १८ गते साँझ ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सार्वजनिक स्थलमा सेवन निषेध गरिनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जारी गरेको सूचनामा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ। उल्लङ्घन भएमा प्रचलित कानून अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सुरक्षा समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सभ्य, सुव्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। निर्णयको कार्यान्वयन नियमित अनुगमन गरी सुनिश्चित गरिने जानकारी पनि दिइएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij