Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रुकुम पूर्वमा प्रचण्डको भारी जीत, प्रतिनिधि सभा प्रवेश पक्का

रुकुम पूर्वमा प्रचण्डको भारी जीत, प्रतिनिधि सभा प्रवेश पक्का

रुकुम पूर्व : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट भारी मतान्तरसहित विजयी भएका छन्। अहिलेसम्म गणना भएका १५ हजार ८२३ मत मध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्, जबकि दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन्।

यो निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो र ३ हजार ३६५ मत अझै गणना हुन बाँकी छ। बाँकी मत गणना गर्दा पनि प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन्। मतगणना पूरा भइसकेपछि औपचारिक घोषणा गरिने छ।

जनआन्दोलन २०६२/६३ पछि भएका सबै चुनावमा संसदमा सहभागी एक्ला पार्टी प्रमुख प्रचण्ड रहेका छन्। उनका सत्तासाझेदार दलका धेरै पार्टी प्रमुख बाटोमा छुटे, तर उनी निरन्तर संसदमा रहँदै आएका छन्।

उनले गठबन्धन परिवर्तन र चुनाव क्षेत्र परिवर्तन गरेका छन्। २०६४ सालको संविधानसभामा रोल्पा र काठमाडौंबाट विजय भएका प्रचण्ड २०७० सालको दोस्रो संविधानसभाको चुनावमा काठमाडौं र सर्लाहीबाट चुनाव लडेका थिए। काठमाडौं–१० मा पराजित हुँदा उनी सर्लाहीबाट विजयी भएका थिए।

यसैगरी, २०७४ सालमा चितवन र २०७९ सालमा गोरखा पुगेर प्रचण्ड विजयी भएका थिए। अहिलेको चुनावमा रुकुम पूर्वबाट उठेर प्रचण्डले विजय हासिल गरेका छन्। यसरी प्रचण्ड २०८२ सालको प्रतिनिधि सभाको चुनावमा पहिलो विजयी पार्टी प्रमुख बनेका छन्।

यसअघि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति गगन थापा र दोस्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावमा पछि परेका छन्। यद्यपि, औपचारिक घोषणा अझै हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट