माडी : बाघको सङ्ख्या बढेसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न सञ्चालन गरिएको विशेष कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको पहलमा माडी क्षेत्रमा लागू गरिएको कार्यक्रमपछि पछिल्ला वर्षहरूमा बाघ आक्रमणबाट हुने मानवीय क्षति शून्यमा झरेको तथ्याङ्कले देखाएको छ । कोषका बरिष्ठ रेन्जर ऋषि सुवेदीका अनुसार केही वर्षअघिसम्म बाघ आक्रमणबाट ज्यान गुमाउने घटनामा वृद्धि भइरहेको थियो।
“कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएपछि अहिले त्यस्ता घटना रोकिएका छन्,” उनले भने । चितवन राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बाघको विचरण बढेसँगै द्वन्द्व चुलिएको थियो। विशेष गरी अयोध्यापुरी र पाँचपाण्डवमध्यवर्ती उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका कार्यक्रमहरू प्रभावकारी देखिएका छन्।
कार्यक्रमअन्तर्गत बाख्राका लागि सुरक्षित खोर निर्माण, जोखिमयुक्त क्षेत्रमा तारबार, र वन्यजन्तुसम्बन्धी सचेतना अभिवृद्धि जस्ता उपायहरू अवलम्बन गरिएका छन्। यससँगै वन्यजन्तुबाट पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा स्थानीयको जीविकोपार्जन सुधारका लागि आयआर्जन कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
तराई भू-परिधि कार्यक्रमअन्तर्गत सञ्चालन भएका यी गतिविधिहरूले स्थानीय बासिन्दाको वनमाथिको निर्भरता घटाउँदै संरक्षणप्रति सकारात्मक धारणा विकास गर्न सहयोग पुर्याएको छ। स्थानीय तहसँगको सहकार्यमा राहत तथा क्षतिपूर्ति वितरण प्रक्रिया पनि सुदृढ बनाइएको छ।
साथै, सामुदायिक स्तरमा सचेतना कार्यक्रममार्फत वन्यजन्तुको व्यवहारबारे जानकारी दिइँदै आएको छ। विशेषज्ञहरूका अनुसार संरक्षण र समुदायबीचको सहकार्य बलियो बन्दै जाँदा माडी क्षेत्रमा मानव–वन्यजन्तु सहअस्तित्वको नयाँ उदाहरण स्थापित हुँदै गएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij