कालिका : कालिका नगरपालिका ले स्थापना भएको झन्डै १० वर्षपछि आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ। २०७४ साल जेठ २ गते स्थापना भएको नगरपालिका हालसम्म भाडाको घरबाट सेवा दिँदै आएको थियो।

११ करोड ५६ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट औपचारिक रूपमा से वा सुरु गरिएको नगर प्रमुख विनोद रेग्मी ले जानकारी दिए। “बल्ल नगरपालिका आएजस्तो भयो, भाडाको घरमा बस्दा निकै असहज भएको थियो,” उनले बताए।

तीन वर्षअघि नै नयाँ भवनमा सर्ने योजना बनाइएको भए पनि ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्य समयमा सम्पन्न हुन सकेन। अहिले भवनमा सम्पूर्ण शाखाका कक्ष व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारी पूरा गरिएको छ। शुक्रबार भवन प्रवेश गरिएको र आइतबारदेखि पूर्णरूपमा सेवा सुरु गरिएको जनाइएको छ।
नयाँ भवनमा सभाहल, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहितका कार्यकक्ष निर्माण गरिएको छ। आर्थिक, स्वास्थ्य, कृषि तथा पशु सेवा, सामाजिकलगायत सबै शाखाबाट अब यही भवनमार्फत सेवा प्रवाह गरिनेछ।

निर्माणमा ढिलाइ भएपछि नगरपालिकाले निर्माण कम्पनीलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना समेत गरेको छ। पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि अन्ततः जरिवाना गरिएको मेयर रेग्मीले बताए।
रविना कन्स्ट्रक्सन ले २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। समयमै काम नसकिएपछि चार पटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुर्याइएको थियो।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं का अनुसार निर्माण कम्पनीले नगरपालिकाको निर्णयविरुद्ध उच्च अदालत हेटौँडा मा मुद्दा दायर गरेको भए पनि अदालतले उक्त मुद्दा खारेज गरिसकेको छ।
हाल भवनका केही काम बाँकी रहे पनि प्रयोगयोग्य संरचनाबाट सेवा सुरु गरिएको जनाइएको छ। कुल ११ करोड ५६ लाख लागतको उक्त भवनमा हालसम्म करिब ७ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।
साबिकका जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाविस समायोजन गरी स्थापना भएको यस नगरपालिकामा करिब ५२ हजार जनसंख्या रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij