Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेपाल भाषा र नेपाली भाषामा कविता वाचन

नेपाल भाषा र नेपाली भाषामा कविता वाचन

काठमाडौँ : कविताया लाय्कूको आयोजनामा कविता कोलाज कार्यक्रमको पहिलो शृङ्खला आइतबार अग्रज कवि भीष्म उप्रेतीको विशेष आतिथ्यमा नेपाल भाषा मंकाः खलः, विजेश्वरीमा सम्पन्न भएको छ । 

कवि भीष्म उप्रेतीको काव्यकृति काठमाडौँ कालेडस्कोपमा सङ्गृहीत कविता र नेवार सभ्यता तथा पहिचानमाथि लेखिएका कविताका सन्दर्भमा गरिएको संवादबाट सुरु भएर नेपाल भाषा र नेपालीमा कविता वाचन गरिएको थियो । काब्यमा सामान्य भन्दा सामान्य दृश्यलाई कवितामा उतार्ने भन्ने विषयसँग सम्बन्धित रहेर काठमाडौँको नेवार सांस्कृतिक जनजीवन र सभ्यतामाथि लेखिएको कविताहरू बारेमा कवि भीष्म उप्रेतीले सुन्दर र प्रभावशाली प्रस्तुति दिएका थिए । 

आफू बाँचेको जीवन, संस्कृतिलाई एक व्यक्तिले जसरी बुझ्छ, त्यही संवेगात्मक अर्थ कवितामा झल्किन्छ । लेख्नु पर्ने धेरै कुराहरू हाम्रै माझ, हाम्रो आँखा वरिपरि छन् तर हामीमा त्यो देख्ने दृष्टि नभएको हुनसक्छ । ती सामान्य जीवनका कुराहरूलाई टिपेर शब्दमा उनेर जीवन्त बनाउन नयाँ पुस्ताका कविहरूले सिक्न पर्नेमा कवि भीष्म उप्रेतीले जोड दिए । 

कार्यक्रममा नेपालभाषा र नेपाली दुवै भाषामा कविताहरू वाचन गरिएको थियो । वाचन गरिएका कविताहरुले काठमाडौँको स्वरुप, मानव जीवन र मृत्यु, प्रेम, आशा निराशा, शान्ति, प्रकृति जस्ता जीवनका विविध पक्षलाई समेटेका थिए । 

कवि भीष्म उप्रेतीकै कविता वाचनबाट सुरु गरिएको कार्यक्रममा १४ जना कविहरूले कविता वाचन गरेका थिए । कविहरु नारद बज्राचार्य, सुधीर ख्वबि, नरेन्द्र बहादुर श्रेष्ठ, राम गोपाल आशुतोष, सुशील राजोपाध्याय, वसन्त नकःमी, कविन्द्रलाल प्रधान, रश्मि नापित, चन्द्र बहादुर लामा, जीवन श्रेष्ठ लगायत कविताया लाय्कूका सदस्य कविहरु रजनीमिला, रहेना नकःमी, बिनिता बज्राचार्य, मंजु श्रेष्ठ सिंहले कविता वाचन गरेका थिए ।

कविताया लाय्कूले कविता कोलाज हरेक महिनाको अन्तिम आइतबार शृङ्खलाबद्ध रूपमा कुनै एक अग्रज प्रतिभाशाली र अनुभवी कविहरूको अनुभव, कविता लेखन र सङ्घर्षका बारेमा संवाद गर्दै कविता वाचन गर्ने कार्यक्रम रहेको कुरा संस्थाका सचिव कवि रजनीमिलाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट