Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

क्यान्सर अस्पतालभित्र अनुमति बिना फोटो-भिडियो खिच्न प्रतिबन्ध

क्यान्सर अस्पतालभित्र अनुमति बिना फोटो-भिडियो खिच्न प्रतिबन्ध

चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अस्पताल परिसरभित्र अनुमति बिना फोटो तथा भिडियो खिच्न पूर्ण रूपमा रोक लगाएको छ। अबदेखि अस्पताल क्षेत्रभित्र कुनै पनि व्यक्ति वा संस्थाले फोटो–भिडियो खिच्न वा खिचाउनुअघि अनिवार्य रूपमा प्रशासनको अनुमति लिनुपर्ने भएको हो ।

अस्पतालले जारी गरेको सूचनामा कर्मचारी, सेवाग्राही तथा अन्य सरोकारवालालाई लक्षित गर्दै यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। सूचनामा स्पष्ट रूपमा भनिएको छ “अस्पतालको संवेदनशीलता, बिरामीको गोपनीयता तथा सेवा प्रवाहमा असर नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।”

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार यदि कुनै व्यक्तिलाई आवश्यक प्रयोजनका लागि फोटो वा भिडियो खिच्नुपर्ने भएमा प्रशासनबाट अग्रिम स्वीकृति लिनुपर्नेछ। अनुमति बिना खिचिएका सामग्रीमाथि आवश्यक कारबाहीसमेत हुन सक्ने सूचनामा जनाईएको छ ।

पछिल्लो समय अस्पतालभित्र विभिन्न व्यक्तिहरूले अनुमति बिना भिडियो तथा फोटो खिच्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि यस्तो निर्णय लिनुपरेको अस्पतालले जनाएको छ । विशेषगरी बिरामीको गोपनीयता उल्लंघन हुने, उपचार प्रक्रियामा अवरोध पुग्ने तथा सामाजिक सञ्जालमा संवेदनशील सामग्री सार्वजनिक हुने जोखिम बढेपछि प्रशासन कडाइमा उत्रिएको हो।

स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि यस्तो कदमलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार अस्पतालजस्ता संवेदनशील स्थानमा बिरामीको गोपनीयता संरक्षण पहिलो प्राथमिकता हुनुपर्ने उनीहरुको तर्क छ । यस्ता नियमले सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यस निर्णयसँगै अब अस्पताल परिसरमा सञ्चारमाध्यम, सर्वसाधारण वा अन्य सरोकारवालाले फोटो–भिडियो खिच्दा पूर्व अनुमति लिई नियम पालन गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट