चितवन : भरतपुर अस्पतालले ओपीडी सेवा व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन गर्दै नयाँ समय तालिका र सेवा सम्बन्धी व्यवस्था लागू गरेको छ । अस्पतालले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओपिडी (बहिरंग) सेवा सञ्चालन गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेद्वारा जारी सूचनाअनुसार अस्पताल सुधार कार्यविधि, २०७२ तथा विभागीय प्रमुखहरूको बैठकको निर्णयका आधारमा सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार अब ओपीडी सेवा आइतबार बिहान ९ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुनेछ भने सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सेवा उपलब्ध गराइनेछ । यसअघि भन्दा सेवा समय विस्तार गरिएकाले बिरामीलाई थप सहजता हुने अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै, टिकट काट्ने समय पनि छुट्टै निर्धारण गरिएको छ । सोमबारदेखि शुक्रबारसम्म बिहान ८ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म टिकट वितरण गरिनेछ, जसमा दिउँसो १२ः०० देखि १ः०० बजेसम्म खाजा समय रहनेछ । आइतबारका दिन भने बिहान ८ः०० बजेदेखि दिउँसो १२ः३० बजेसम्म टिकट काट्ने व्यवस्था गरिएको छ ।
अस्पतालले सुपर स्पेसियालिटी बाहेकका अन्य सबै विभागमा दैनिक रूपमा बिरामीको उपचार सेवा निरन्तर सञ्चालन हुने जनाएको छ । साथै, बहिरंग (ओपीडी) टिकटको संख्या सीमित नगरिने स्पष्ट पारिएको छ, जसले बिरामीहरूको पहुँचलाई अझ सहज बनाउने विश्वास लिइएको छ ।
यसैबीच, अस्पतालले विस्तारित स्वास्थ्य सेवा सम्बन्धी टिकट र बिलिङ सेवा भने तोकिएको समय अवधिमा लागू नहुने जानकारी दिएको छ । आइतबार बिहान ९ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म तथा सोमबारदेखि शुक्रबार बिहान ९ः०० बजेदेखि ५ः०० बजेसम्म ईएएस सेवा अन्तर्गतका टिकट तथा बिलिङ सुविधा उपलब्ध नहुने उल्लेख गरिएको छ ।
अस्पताल प्रशासनले नयाँ व्यवस्था कार्यान्वयनसँगै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने लक्ष्य राखिएको जनाएको छ । साथै, बिरामी तथा सेवाग्राहीलाई तोकिएको समयअनुसार सेवा लिन अनुरोध गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij