मुम्बई : चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोड भारतीय रुपैयाँ बराबरको मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) प्रकरणमा नयाँ कदम चालेकी छिन् । उनले दिल्लीस्थित पटियाला हाउस अदालतमा निवेदन दर्ता गर्दै आफूलाई यस मुद्दामा सरकारी साक्षी (अप्रुभल) बनाउन माग गरेकी हुन् ।
यो मुद्दा कुख्यात ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित छ, जसले करोडौँ रुपैयाँको ठगी तथा सम्पत्ति शुद्धीकरण गरेको आरोप सामना गरिरहेको छ ।
न्यूज एजेन्सी एएनआईका अनुसार ज्याकलिनको निवेदनमाथि प्रवर्तन निर्देशनालय (ईडी) ले अदालतमा आपत्ति जनाएको छ । ईडीले निवेदन अस्पष्ट र अपूर्ण भएको भन्दै जवाफका लागि थप समय माग गरेको छ । अदालतले ईडीलाई लिखित जवाफ पेश गर्न समय दिएको छ ।
यदि अदालतले अनुमति दिएमा ज्याकलिन अभियुक्त सूचीबाट हटेर सरकारी पक्षको प्रमुख साक्षीका रूपमा प्रस्तुत हुन सक्नेछिन् ।
ज्याकलिनले आफू अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गर्न तयार रहेको र सत्यतथ्य बाहिर ल्याउन चाहेको बताएकी छिन् । यसअघि उनले सुकेशको आपराधिक गतिविधिबारे आफूलाई जानकारी नभएको र आफूलाई भ्रममा पारिएको दाबी गर्दै आएकी थिइन् ।
यस प्रकरणमा सुकेश चन्द्रशेखरले हाई-प्रोफाइल व्यक्तिहरूलाई लक्षित गर्दै अवैध रूपमा ठूलो रकम संकलन गरेको आरोप छ । ज्याकलिन लामो समयदेखि सोधपुछ र कानुनी प्रक्रियामा संलग्न रहँदै आएकी छिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij