काठमाडौं : चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा अदालतले अस्थायी रोक लगाएको छ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्मका लागि फिल्म प्रदर्शन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार विवाद टुंगो नलागेसम्म फिल्म सार्वजनिक प्रदर्शनमा जान नपाउने भएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले फिल्मका केही शब्द र प्रस्तुतिमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यो आदेश दिएको हो।
यम थापा निर्देशित ‘लालीबजार’ १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा थियो। षट्कोण आर्टसद्वारा निर्मित यस फिल्म वादी समुदायका महिलाहरूको संघर्ष र जीवनकथामा आधारित रहेको बताइएको छ। यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरिसकेको भए पनि अदालतको आदेशपछि यसको प्रदर्शन तत्कालका लागि रोकिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij