काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा नयाँ आशा, उत्साह र फरक कथावस्तुसहित फिल्म ‘अक्षरा’ को औपचारिक शुभारम्भ गरिएको छ । शुक्रबार बिहान काठमाडौँस्थित प्रसिद्ध धार्मिक स्थल गुहेश्वरी मन्दिरको पवित्र परिसरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको हो । धार्मिक विधिअनुसार गरिएको कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

शुभमुहूर्त कार्यक्रममा फिल्मसँग आबद्ध कलाकार तथा निर्माण टिमले फिल्म सफल हुने विश्वास व्यक्त गरेका थिए । धार्मिक वातावरणबीच गरिएको शुभारम्भले निर्माण टिमको फिल्मप्रतिको आत्मीयता, समर्पण र सकारात्मक ऊर्जा झल्काएको सहभागीहरूले बताएका छन् ।

निर्देशक विनयराज पौडेलको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘अक्षरा’ ले सम्बन्ध, संघर्ष, सपना र जीवनका संवेदनशील आयामलाई समेट्ने बताइएको छ । पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्मले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा निर्माण टिमले गरेको छ ।
क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत तथा रिस्ता अधिकारीको मुख्य अभिनय रहनेछ । साथै, बाल कलाकार रोनक खड्का र प्रीसा ढुंगानाले पनि फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।

फिल्मको संगीत पक्ष पनि बलियो रहने निर्माण पक्षको दाबी छ । गीतकार सुरेन्द्र रानाका शब्द तथा संगीतकार कर्णराज गिरीको संगीतले फिल्मलाई भावनात्मक उचाइ दिने अपेक्षा गरिएको छ । त्यस्तै, चर्चित कोरियोग्राफर रामजी लामिछाने र अनुभवी द्वन्द्व निर्देशक शङ्कर महर्जनको सहकार्यले फिल्मलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ ।
फिल्मको कथा निर्माता उग्रसेन ढुंगानाले तयार पारेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले संयुक्त रूपमा लेखेका छन् । निर्माण टिमका अनुसार फिल्मको छायांकन वैशाख २७ गतेबाट सुरु गरिनेछ ।

फिल्म आगामी भदौ २६ गते देशभर प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ कथावस्तु र मौलिक प्रस्तुतिको खोजी भइरहेका बेला ‘अक्षरा’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij