Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नौ वर्षपछि अभिनेत्री गरिमा पन्तको नेपाली फिल्ममा पुनरागमन, ‘बाटुलो जुन’मार्फत कमब्याक

नौ वर्षपछि अभिनेत्री गरिमा पन्तको नेपाली फिल्ममा पुनरागमन, ‘बाटुलो जुन’मार्फत कमब्याक

काठमाडौं : लामो समय नेपाली फिल्म क्षेत्रबाट टाढिएकी अभिनेत्री गरिमा पन्त पुनः अभिनयमा फर्किएकी छन्। झण्डै नौ वर्षको अन्तरालपछि उनी निर्देशक भुवन केसीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘बाटुलो जुन’ मार्फत पुनः पर्दामा देखिन लागेकी हुन्।

२०७४ सालमा प्रदर्शनमा आएको फिल्म ‘स्काउट’ पछि उनी चलचित्र क्षेत्रमा सक्रिय थिइनन्। पछिल्लो समय विदेशमा बसोबास गर्दै आएकी गरिमाले अब भने पुनः नेपाली फिल्ममा कमब्याक गरेकी हुन्।

फिल्म ‘बाटुलो जुन’को अन्तिम चरणको छायांकन सेटमा उनलाई प्रवेश गराइएको छ। निर्देशक केसीले उनलाई बेल्जियमबाट बोलाएर फिल्ममा अभिनय गराएको चर्चा छ। यस फिल्ममा निर्देशक केसी स्वयं पनि उनको जोडीको रूपमा देखिने बताइएको छ।

गरिमा पन्तले आफू नेपाली फिल्ममा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै लेखेकी छन्, “क्यामेरा, सेट अनि अभिनयसँगको पुनः भेट… केही समयको अन्तरालपछि फेरि एउटा सुन्दर कथामार्फत यहाँहरू माझ आउँदै छु।” उनले सम्पूर्ण ‘बाटुलो जुन’ टिमप्रति आभार व्यक्त गर्दै दर्शकको साथ र मायाको अपेक्षा गरेकी छन्।

२०७३ सालमा बेल्जियम निवासी हरि थपलियासँग विवाह गरेपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन्। गरिमालाई फिल्म ‘झोला’ले थप चर्चामा ल्याएको थियो। त्यसपछि उनले ‘निखिल दाइ’, ‘जीवन मृत्यु’, ‘प्रीतिको फूल’, ‘दिदी भाइ’, ‘मनले मनलाई छुन्छ’, ‘सुन्दर मेरो नाम’ लगायत फिल्ममा अभिनय गरेकी थिइन्।

दसैंको अवसर पारेर असोज ३० गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘बाटुलो जुन’ले उनको दोस्रो इनिङ्सलाई कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। लामो समयपछि उनको यो कमब्याकलाई नेपाली दर्शकले सरप्राइजको रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट