काठमाडौँ : फिल्म ‘रोल नम्बर १’ ले बक्स अफिसमा एक करोड ३५ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ । जसमा ‘रोल नम्बर १’ को आम्दानी आइतबार राती १२ बजेसम्म एक करोड ३५ लाख १५ हजार ९९३ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मको टिकट ४७ हजार १५१ वटा बिक्री भएका छन् ।
विनोद पौडेलको निर्माण रहेको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन भुसाल, सुशांक कार्की , रेणुनाथ योगी, सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको समेत अभिनय छ ।
विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको फिल्म अहिले पनि प्रदर्शनरत छ । विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हलमा नै लगेर देखाउन थालेका छन् । विद्यार्थी र शिक्षकहरूले फिल्मलाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने भनेर पब्लिसिटी गरिरहेका छन् ।
फिल्मले शिक्षा, पारिवारिक सम्बन्ध, विद्यार्थी जीवनका चुनौती र सामाजिक यथार्थलाई भावनात्मक ढङ्गले प्रस्तुत गरेको भन्दै दर्शकहरूले प्रशंसा गरिरहेका छन्। चलचित्र हेरेपछि धेरै विद्यार्थी तथा दर्शक भावुक बनेका छन् भने कतिपयले पुनः परिवारसहित हेर्ने इच्छा व्यक्त गरेका छन्। बलियो वर्ड अफ माउथ र दर्शकको सकारात्मक प्रतिक्रियाका कारण फिल्मले यो सातामा पनि प्रदर्शनमा निरन्तरता पाएको छ। फिल्म गत १५ जेटबाट सार्वजनिक प्रदर्शनमा आएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij