Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रिले दौडमा बागमती प्रदेश प्रथम, सौराहाकी शाल्भा परियारको लगातार सफलता

रिले दौडमा बागमती प्रदेश प्रथम, सौराहाकी शाल्भा परियारको लगातार सफलता

सौराहा : चितवनको रत्ननगर नगरपालिका–६ सौराहाकी शाल्भा परियार एथलेटिक्सतर्फ उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशस्तरीय रिले दौडमा प्रथम भएकी छन्। हालै सम्पन्न प्रतियोगितामा उनले रिले दौडमा स्वर्ण पदक जित्नुका साथै लङजम्प र १०० मिटर दौडमा दोस्रो स्थान हासिल गर्दै एकैपटक तीनवटा उपाधि आफ्नो नाममा दर्ज गराएकी हुन्।

उक्त उपलब्धिसँगै उनले मेडलसहित रु १५ हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छन्। निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेकी शाल्भालाई खेल क्षेत्रमा उज्ज्वल भविष्य बोकेकी प्रतिभाका रूपमा हेरिएको छ।

हाल सौराहास्थित ग्रीन सोसाइटी पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत परियारले यसअघि जेठ महिनामा काठमाडौंमा सम्पन्न १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको ४०० मिटर रिले दौडमा पनि बागमती प्रदेशलाई प्रथम गराएकी थिइन्। उनको सो सफलतापछि रत्ननगर नगरपालिकाले सम्मान गर्दै नगद रु १० हजारसहित पुरस्कृत गरेको थियो। नगर प्रमुख प्रह्लाद सापकोटाले उनको उपलब्धिले रत्ननगरको गौरव बढाएको बताएका थिए।

शाल्भाका बुवा तथा सौराहाका पर्यटन व्यवसायी शीरलाल परियारका अनुसार छोरी सानैदेखि खेलकुदप्रति रुचि राख्थिन्। विद्यालयस्तरीय विभिन्न दौड प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै आएकी उनी अहिले प्रदेशस्तरसम्म आफ्नो प्रतिभा प्रमाणित गर्न सफल भएकी छन्। सुरुमा चिकित्सक वा पाइलट बन्ने सपना देखेकी शाल्भाले पछिल्लो समय खेलकुदमै आफ्नो भविष्य निर्माण गर्ने लक्ष्य लिएकी छन्। विद्यालयका प्राचार्य गोपीलाल श्रेष्ठले शाल्भाको सफलताले विद्यालयको प्रतिष्ठा बढाएको भन्दै उनको खेल यात्रामा विद्यालयको निरन्तर साथ र प्रेरणा रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट