चितवन : चितवनको क्षेत्रपुरस्थित क्युएफएक्स जलमाले चलचित्रप्रेमी दर्शकलाई लक्षित गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ।
नयाँ योजनाअन्तर्गत हरेक बुधबार र बिहीबार दर्शकहरूले केवल १५० रुपैयाँमै चलचित्र हेर्न सक्ने व्यवस्था गरिएको क्युएफएक्स जलमाका म्यानेजर विकास पोखरेलले जानकारी दिए।
दर्शकको आकर्षण बढाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत अन्य दिनहरूमा भने नियमित टिकट दर लागू रहनेछ। शुक्रबार, शनिबार र सोमबार ३८० रुपैयाँ तथा आइतबार र मंगलबार ३२० रुपैयाँ टिकट शुल्क कायम गरिएको छ। त्यस्तै हरेक दिन बिहानको शोमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।
कम मूल्यमा चलचित्र हेर्ने अवसरले विद्यार्थी, युवा तथा पारिवारिक दर्शकलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ। क्युएफएक्स जलमाले दर्शकलाई आकर्षित गर्न समय–समयमा विभिन्न छुट तथा विशेष योजना सञ्चालन गर्दै आएको छ।
हाल जलमामा दुईवटा अत्याधुनिक हल सञ्चालनमा छन्। ‘ए’ हलमा २६८ सिट र ‘बी’ हलमा २६५ सिट गरी कुल ५३३ सिट क्षमता रहेको छ।
दर्शकको चापलाई ध्यानमा राख्दै आगामी दशैंदेखि थप एक नयाँ हल सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको म्यानेजर पोखरेलले बताए। नयाँ हल सञ्चालनपछि चलचित्र प्रदर्शन क्षमता अझ विस्तार हुने अपेक्षा गरिएको छ।