Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

“बेहुली”को पोस्टर सार्वजनिकः पारसको हातमा हतकडी र दिव्या

“बेहुली”को पोस्टर सार्वजनिकः पारसको हातमा हतकडी र दिव्या

काठमाडौँ :  हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बेहुली’ आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो।

सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ। रातो रङको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेस लगाएकी छिन्। हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक अङ्कमालले सिनेमाभित्र कुनै गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ। श्रीधर पौडेलले खिचेको यो तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन्। 

पोस्टर सार्वजनिक गर्न काठमाडौंमा आयोजित जमघटमा मुख्य कलाकारद्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या दुरुस्तै बेहुलीको पहिरनमा थिइन्, अनि पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले एक अर्काप्रतिको प्रेमिल भाव व्यक्त गर्दा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान तानिएको थियो। चलचित्रमा यी दुईका अलावा सुशान्त कार्कीको पनि प्रमुख अभिनय रहनेछ।

‘होस्टेल ३’ बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यस पटक एउटा निकै परिपक्व र गम्भीर प्रेमकथामा दिव्याको जोडी बनेर आउँदैछन्। युवापुस्तामाझ लोकप्रिय कुलब्वाय पारस र दिव्याको यो फ्रेस अनस्क्रिन केमेस्ट्री कस्तो जम्ला भन्ने कौतूहल दर्शकवृत्तमा पहिल्यैदेखि छ। निर्माण पक्षले तिजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथाबीचको संयोजनले दर्शकलाई एउटा फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ।

‘होस्टेल ३’ मै सहकार्य गरेको सशान कँडेल र माधव शर्माको जोडीले नै ‘बेहुली’लाई आकार दिएको हो। माधवको कथामा सशानले सिनेमाको निर्देशन कमान्ड सम्हालेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस प्रोजेक्टमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गानाले सहायकको भूमिका निर्वाह गरेका छन्।

पर्दामा पारस, दिव्या र सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरजस्ता कलाकारले साथ दिएका छन्। प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहनेछ।

चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट