Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

तेस्रो बागमती प्रदेश खेलकुदमा कालिकाको ऐतिहासिक सफलता, १ स्वर्णसहित १३ पदक जित्दै खेलाडी सम्मानित

तेस्रो बागमती प्रदेश खेलकुदमा कालिकाको ऐतिहासिक सफलता, १ स्वर्णसहित १३ पदक जित्दै खेलाडी सम्मानित

चितवन : हेटौंडामा असार १ देखि ९ गतेसम्म सम्पन्न तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत आयोजित आइटिएफ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कालिका नगरपालिकाका खेलाडीहरूलाई सम्मान गरिएको छ।

प्रतियोगितामा कालिका नगरपालिकाबाट सहभागी खेलाडीहरूले १ स्वर्ण, ३ रजत र ९ कांस्य गरी कुल १३ पदक जित्दै नगरपालिकाको गौरव बढाएका हुन्। खेलाडीहरूले प्रदेशस्तरमा अनुशासित र उत्कृष्ट प्रदर्शन गर्दै कालिका नगरपालिकाको नाम उँचो बनाउन सफल भएको नगरपालिकाले जनाएको छ।

उक्त उपलब्धिको सम्मानस्वरूप आयोजित कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले विजयी खेलाडीहरूलाई खादा ओढाएर सम्मान गर्नुभयो। पहिलो चरणमा खेलाडी रितेश गुरुङयमन महतोलाई सम्मान गरिएको हो। अन्य पदक विजेता खेलाडीहरूलाई पनि क्रमिक रूपमा सम्मान गरिने नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले खेलाडीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण यस्तो सफलता सम्भव भएको बताउनुभयो। उहाँले आगामी दिनमा खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा प्राप्त यो उपलब्धिले कालिका नगरपालिकामा आइटिएफ तेक्वान्दो खेलप्रतिको आकर्षण र सम्भावना अझ मजबुत भएको देखिएको छ। स्थानीय तहको सहयोग, प्रशिक्षकहरूको समर्पण र खेलाडीहरूको अथक मेहनतका कारण भविष्यमा अझ ठूलो सफलता हासिल हुने अपेक्षा गरिएको छ।

कालिका नगरपालिकाले खेलकुदलाई युवा विकास, अनुशासन र स्वस्थ समाज निर्माणको महत्वपूर्ण आधारका रूपमा प्राथमिकतामा राख्दै विभिन्न खेल गतिविधिलाई प्रोत्साहन गर्दै आएको छ। खेलाडीहरूको यस सफलताले नगरका अन्य युवाहरूलाई पनि खेलकुदतर्फ आकर्षित गर्दै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट