काठमाडौं : आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’को डबिङ कार्य तीव्र गतिमा भइरहेको छ। यसक्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्।
डबिङपछि प्रतिक्रिया दिँदै दीपाश्रीले चलचित्रको कथा आफूले अपेक्षा गरेभन्दा अझ उत्कृष्ट बनेको बताइन्। फरक शैलीमा प्रस्तुत गरिएको कथा र भावनात्मक पटकथाले आफूलाई निकै प्रभावित पारेको उनको भनाइ छ।
चलचित्रकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि निर्माणको अन्तिम चरणप्रति उत्साहित देखिएकी छन्। आफूले कल्पना गरेभन्दा राम्रो चलचित्र तयार भइरहेको उल्लेख गर्दै उनले कलाकार तथा सम्पूर्ण प्राविधिक टोलीप्रति आभार व्यक्त गरिन्।
‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा नीता ढुङ्गाना अधिकारी, दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको मुख्य अभिनय रहेको छ।
चलचित्रका निर्माता हरिहर अधिकारी हुन् भने पटकथा शिवम् अधिकारीले तयार पारेका छन्। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा रहेका छन्। सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढाएको छ।
उल्लेखनीय रूपमा, यसअघि यही ब्यानरबाट निर्माण भएको ‘ह्रस्वदीर्घ’ पनि चर्चामा रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij