Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नोस्कोभाले जितिन् विम्बलडनको उपाधि

नोस्कोभाले जितिन् विम्बलडनको उपाधि

लन्डन : चेक गणतन्त्रकी २१ वर्षीया युवा टेनिस खेलाडी लिन्डा नोस्कोभाले आफ्नै देशकी क्यारोलिना मुचोभालाई पराजित गर्दै आफ्नो पहिलो ग्राण्डस्लाम अन्तर्गत विम्बलडनको ऐतिहासिक उपाधि जितेकी छिन्।

सेन्टर कोर्टमा भएको असाधारण र नाटकीय फाइनल खेलमा १०औँ वरीयताकी मुचोभाको कडा चुनौतीलाई ६-२, ५-७, ६-३ को सेटमा पन्छाउँदै नोस्कोभाले प्रतिष्ठित 'भेनस रोजवाटर डिस' (उपाधि) आफ्नो नाम गराइन्।

खेलको सुरुवाती ७० मिनेटसम्म नोस्कोभाले पूर्ण रूपमा दबाब बनाएकी थिइन्। पहिलो सेट ६-२ ले जितेर दोस्रो सेटमा पनि ५-२ को सहज अग्रताका साथ उनी उपाधि नजिक पुगिसकेकी थिइन्।  

तर, २८ वर्षपछि विम्बलडन फाइनल पुग्ने सबैभन्दा पाको उमेरकी पहिलो खेलाडी बनेकी ३० वर्षीया अनुभवी मुचोभाले हार मानिनन्। उनले आफ्नै सर्भिसमा संकट टार्दै नोस्कोभाका ५ वटा च्याम्पियनसिप प्वाइन्टहरू विफल पारिन्। उत्कृष्ट पुनरागमन गर्दै मुचोभाले लगातार खेल जितेर दोस्रो सेट ७-५ ले आफ्नो पक्षमा पार्दै खेललाई तेस्रो तथा निर्णायक सेटमा पुर्‍याइन्।

हामा आइसकेको जित फुत्किएपछि दबाबमा परेकी नोस्कोभाले तेस्रो सेटमा फेरि उत्कृष्ट मानसिक दृढता देखाइन्। खेल सुरु भएको करिब २ घण्टापछि आफ्नो छैटौँ च्याम्पियनसिप प्वाइन्टलाई सदुपयोग गर्दै नोस्कोभाले तेस्रो सेट ६-३ ले जितेर उपाधि पक्का गरिन्। उनी पछिल्लो चार वर्षमा विम्बलडन जित्ने चेक गणतन्त्रकी तेस्रो महिला खेलाडी बनेकी छिन्।

उपाधि हातमा लिएपछि भावुक बनेकी २१ वर्षीया नोस्कोभाले दुई वर्षअघि निधन भएकी आफ्नी आमा इभानालाई सम्झिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट