Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दक्षिण अफ्रिकाका लागि केही दिन अघि विश्वकप खेलेका जेडन एडम्सको २५ वर्षमै निधन

दक्षिण अफ्रिकाका लागि केही दिन अघि विश्वकप खेलेका जेडन एडम्सको २५ वर्षमै निधन

एजेन्सी : दक्षिण अफ्रिकी राष्ट्रिय टोली (बाफाना बाफाना) बाट केही दिन अघि मात्र विश्वकप खेलेका २५ वर्षीय युवा मिडफिल्डर जयडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ।

एडम्सले जारी फिफा विश्वकपमा दक्षिण अफ्रिकाका लागि समूह चरणका सबै खेल खेलेका थिए। उनले मेक्सिकोविरुद्धको पहिलो खेलमा सुरुआती रोजाइमा पर्दै खेलेका थिए, जहाँ दक्षिण अफ्रिका २-० ले पराजित भएको थियो। त्यसपछि चेकियासँग १-१ को बराबरी भएको खेलमा पनि उनले सुरुआत गरेका थिए र दुवै खेलमा पछि प्रतिस्थापन गरिएका थिए। दक्षिण कोरियाविरुद्धको १-० को जितमा भने उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। तर, अन्तिम ३२ को चरणमा क्यानडासँग १-० ले पराजित भएको खेलमा भने उनले खेल्ने अवसर पाएका थिएनन्।

दक्षिण अफ्रिकाका खेलमन्त्री गेटन म्याकेन्जीले एक विज्ञप्ति जारी गर्दै एडम्सको मृत्यु पुष्टि गरेका हुन्। उनले भने ‘मामेलोडी सन्डाउन्स र बाफाना बाफानाका मिडफिल्डर जयडेन एडम्सको २५ वर्षको उमेरमै निधन भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु।’

उनले भने ‘दक्षिण अफ्रिकी फुटबलले आफ्ना सबैभन्दा उज्ज्वल युवा प्रतिभामध्ये एकलाई गुमाएको छ। उनको परिवार, टोलीका साथीहरू र एक प्रतिभाशाली एकेडेमी खेलाडीबाट पूर्ण अन्तर्राष्ट्रिय खेलाडीसम्मको उनको यात्रालाई नजिकबाट नियालेका लाखौँ समर्थकसँगै सम्पूर्ण राष्ट्र शोकमा डुबेको छ।’

यद्यपि, खेलमन्त्रीले एडम्सको मृत्युको कारण खुलाएका छैनन्। प्रहरीले शनिबार बिहान केप टाउनको मध्य क्षेत्रस्थित स्कट्सचे क्लूफमा रहेको एक घरबाट २५ वर्षीय पुरुषको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको जनाएको छ।

पश्चिमी केप प्रहरीका प्रवक्ता एफ.सी. भान विकले एएफपीसँग भने, ‘यस घटनासँग सम्बन्धित सम्पूर्ण परिस्थितिबारे अनुसन्धान भइरहेको छ।’ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि समवेदना व्यक्त गर्दै भने ‘दक्षिण अफ्रिकाका मिडफिल्डर जयडेन एडम्स आफ्नो देशको ऐतिहासिक विश्वकप यात्रामा सहभागी भएको केही सातामै निधन भएको खबर अत्यन्त दुःखद छ। म तथा फिफा परिवार र विश्व फुटबल समुदायका सबै सदस्यहरूको तर्फबाट उहाँको परिवार, साथीभाइ र टोलीका खेलाडीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। बाफाना बाफाना र मामेलोडी सन्डाउन्सका यो प्रतिभाशाली खेलाडीको अभाव सबैले महसुस गर्नेछन्। उहाँको आत्माले चिरशान्ति पाओस्।’

एडम्सले आफ्नो फुटबल यात्रा स्टेलेनबोस एफसीको युवा एकेडेमीबाट सुरु गरेका थिए। उनी सो क्लबको एकेडेमीबाट व्यावसायिक सम्झौता गर्ने पहिलो खेलाडी बनेका थिए।

उनले स्टेलेनबोसका लागि १३९ खेल खेल्दै सन् २०२३ को कार्लिङ नकआउट उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले। त्यसपछि जनवरी २०२५ मा उनी मामेलोडी सन्डाउन्समा आबद्ध भएका थिए।

दक्षिण अफ्रिकी फुटबल खेलाडी संघ (एसएएफपीयु) ले पनि विज्ञप्ति जारी गर्दै एडम्सको असामयिक निधनले स्तब्ध र शोकाकुल भएको जनाएको छ। उसले भन्यो ‘केही समयअघि मात्रै २०२६ फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै देशको आशालाई गर्व, साहस र उत्कृष्ट प्रदर्शनका साथ बोकेका थिए। उहाँको निधन उहाँको परिवार, टोलीका साथीहरू, क्लबहरू, सम्पूर्ण फुटबल समुदाय र देशकै लागि अपूरणीय क्षति हो। हामी एडम्स परिवार, मामेलोडी सन्डाउन्स, स्टेलेनबोस एफसी, बाफाना बाफाना र उहाँको जीवनबाट प्रभावित भएका सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट