काठमाडौं : बर्डफ्लुका कारण कुखुरा नष्ट गर्नुपरेका किसानलाई सरकारले ५० करोड ७१ लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा क्षति बेहोरेका किसानलाई क्षतिपूर्तिस्वरुप उक्त रकम प्रदान गरिएको हो ।
विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका १०५ जना किसानलाई राहत उपलब्ध गराइएको छ । बर्डफ्लु नियन्त्रणका लागि विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्तिका लागि किसानले आवश्यक प्रक्रिया पूरा गरी कागजात पेश गरेपछि कुल क्षतिको ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था रहेको डा. उपाध्यायले जानकारी दिए ।
विभागको तथ्यांकअनुसार संक्रमण नियन्त्रणका क्रममा पछिल्लो तीन महिनामा देशभर करिब ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ वटा अण्डा तथा २ लाख ४३ हजार ६३५ किलो दाना नष्ट गरिएको छ ।
डा. उपाध्यायका अनुसार पछिल्लो तीन महिनामा बर्डफ्लु फैलिएका ११ जिल्लामध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायत जिल्लामा संक्रमण पूर्णरुपमा नियन्त्रणमा आएको छ । यस्तै काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा पनि बर्डफ्लु नियन्त्रणतर्फ अघि बढिरहेको विभागले जनाएको छ । सरकारले संक्रमण नियन्त्रणसँगै प्रभावित किसानलाई राहत उपलब्ध गराउने तथा थप संक्रमण फैलिन नदिन निगरानीलाई निरन्तरता दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij