चितवन : चितवनमा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये गत आर्थिक वर्षमा ८९३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ११ हजार ४१९ जनाको परीक्षण गर्दा ८९३ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये ६२१ जना चितवनका स्थानीय बासिन्दा रहेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार जिल्लाभित्र सबैभन्दा बढी संक्रमण रत्ननगर नगरपालिकामा देखिएको छ। रत्ननगरमा २४६ जना, खैरहनी नगरपालिकामा ११७ जना र भरतपुर महानगरपालिकामा ९० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, राप्ती नगरपालिकामा ८२ जना, कालिका नगरपालिकामा ६९ जना, इच्छाकामना गाउँपालिकामा १० जना र माडी नगरपालिकामा सात जनामा स्क्रब टाइफस देखिएको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात हजार ९५ जनाको परीक्षण गर्दा एक हजार ५५ जनामा संक्रमण पुष्टि भएको थियो। चालु आर्थिक वर्षमा भने स्क्रब टाइफस संक्रमणका कारण एक जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
स्क्रब टाइफस मुसा वा अन्य जीवजन्तुमा पाइने संक्रमित किर्नाले टोकेपछि मानिसमा सर्ने गर्दछ। यस रोग लागेमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न समस्या हुने, टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र किर्नाले टोकेको स्थानमा कालो दाग देखिन सक्ने चिकित्सकहरूले बताएका छन्।
जनस्वास्थ्य कार्यालयले संक्रमणबाट बच्न खेत, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता प्रयोग गर्न, शरीरको खुला भागमा कीटनाशक मलम लगाउन तथा घर वरिपरिको वातावरण सफा राख्न आग्रह गरेको छ। त्यस्तै, घरमा मुसाको नियन्त्रण गर्न र अन्न सुरक्षित रूपमा भण्डारण गर्न पनि कार्यालयले सुझाव दिएको छ। समयमै पहिचान र उपचार गरे स्क्रब टाइफसबाट हुने जटिलता कम गर्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij