Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा पुनः नियमित, बिरामीलाई राहत

भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा पुनः नियमित, बिरामीलाई राहत

चितवन : प्राविधिक समस्याका कारण केही समयदेखि अवरुद्ध रहेको चितवनको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ । सिटी स्क्यान उपकरणको एक्स–रे ट्युब बिग्रिएपछि रोकिएको सेवा मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स–रे ट्युबमा समस्या आएपछि गत असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो । खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स–रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः सुरु गरिएको उनले जानकारी दिए ।

सेवा अवरुद्ध भएको अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय गरी सिटी स्क्यान सेवा निरन्तरता दिएको थियो । गत असार १० गतेदेखि स्वास्थ्य बिमाको दरमा निजी अस्पतालमार्फत बिरामीलाई सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार भरतपुर अस्पतालमा दैनिक करिब ५० जना बिरामीले सिटी स्क्यान सेवा लिँदै आएका छन् । सेवा पुनः सञ्चालनमा आएसँगै बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, भरतपुर अस्पतालले पित्तथैली निकाल्ने शल्यक्रिया (कोलेसिस्टेक्टोमी) को पालो व्यवस्थापनमा समेत परिवर्तन गरेको छ । दूरबिन (ल्यापारोस्कोपिक) तथा चिरफार (ओपन) विधिबाट गरिने शल्यक्रियाको समयतालिका परिमार्जन गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता एवं सहप्राध्यापक डा. रामप्रसाद सापकोटाका अनुसार तोकिएको समयभन्दा अगावै शल्यक्रिया सम्पन्न गर्ने उद्देश्यले शल्यक्रियाको तालिका हेरफेर गरिएको हो । विसं २०८३ को माघ महिनाभन्दा पछाडिको मितिमा शल्यक्रियाको पालो पाएका सेवाग्राही तथा बिरामीलाई अस्पतालमा सम्पर्क गरी नयाँ मिति तय गर्न आग्रह गरिएको छ । अस्पतालले सम्बन्धित बिरामीलाई सम्पर्क गरेर शल्यक्रियाको नयाँ समय सुनिश्चित गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट