Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाइने

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाइने

काठमाडौँ :  आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा बुधबार छलफल भएको हो। सो क्रममा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ।

मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताएका छन्। सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए।

पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिइएको छ।

ती संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तरराष्ट्रियस्तरको वेलनेस सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ।

यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य सङ्गठन मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सहभागीले सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट