चितवन : प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ।
प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण सकेसम्म अधिकांशले भरतपुर अस्पतालमा शिशु जन्माउन चाहन्छन्। अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति रोग बिशेषज्ञ सह प्रध्यापक डा. रामप्रसाद सापकोटा गत आर्थिक वर्षमा सात हजार ८५३ जना महिलाले अस्पतालबाट प्रसूति सेवा लिएको बताउँछन्।
उनका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्यस्तरबाट शिशुलाई जन्म दिइएको छ भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको छ । ७० जनाको भ्याकुम र फोर्सएप नामक उपकरण प्रयोग गरेर शिशुलाई जन्म दिइएको छ।
अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । तीमध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले शिशुलाई जन्म दिइएको छ।
१८७ जना आमाको उपकरण प्रयोग गरी शिशुलाई जन्म दिइएको हो। गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलव ४ रहेको थियो । जटिल प्रकृतिका धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उनको भनाइ छ।
अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी रहेका छन्। जसका कारण सुत्केरी गराउनेलाई अन्यत्रभन्दा सहज हुने गरेको उनको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको कङ्गारु मदर केयरसमेत रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij