Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

काठमाडौँ :  नेपाली पूर्वाधार विकासमा एक ऐतिहासिक माइलस्तम्भ थप्दै नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ।

देशकै पहिलो व्यवस्थित र आधुनिक यातायात सुरुङमार्गका रूपमा लिइएको यस आयोजनाको पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जाइकाका अध्यक्षलगायतका उच्च अधिकारीहरूको उपस्थितिमा बिहान १०:२५ बजे उद्घाटन गर्न लागिएको हो।

उद्घाटन कार्यक्रममा मन्त्री लम्साल, जापानी राजदूत र जाइका अध्यक्षले सुरुङभित्र आफैँ गाडी चलाएर सवारी आवागमनको औपचारिक सुरुआत गर्नेछन्। यसपछि निर्माण पक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

सुरुमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अन्य अत्यावश्यक सवारीसाधनलाई प्रवेश दिइनेछ। केही दिन सुरक्षा र ट्राफिक व्यवस्थापनको पूर्ण परीक्षण गरेपछि मात्र अन्य सवारीसाधनलाई सञ्चालन गर्न दिइनेछ। यो परीक्षण अवधिभर सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन।

परीक्षण सम्पन्न भइसकेपछि भने सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि निश्चित शुल्क तोकिएको छ, जुन विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। सडक विभागका अनुसार काठमाडौँ भित्रिँदा कार/भ्यानले रु ६५ (बाहिरिँदा रु ६०), मिनीबस/ट्रक/टिपरले रु ११५ (बाहिरिँदा रु ८०) र ठूला बस तथा ट्रकले रु २६० (बाहिरिँदा रु २००) शुल्क तिर्नुपर्नेछ।

यद्यपि, सुरक्षाका कारण दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारी, पैदलयात्री तथा डिजेल, पेट्रोल, ग्यास र विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङ प्रवेशमा पूर्ण निषेध गरिएको छ।

जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस आयोजनामा मुख्य (२,६८८ मिटर) र उद्धार गरी दुई वटा सुरुङ रहेका छन्। परामर्शदाता संस्था निप्पन कोइका अनुसार सुरुङभित्र निरन्तर अक्सिजनको प्रवाह, दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा र आधुनिक सञ्चार संयन्त्र जडान गरिएका छन्।

काठमाडौँको चन्द्रागिरि-१ दहचोकबाट धादिङको धुनिबेँसी स्थित सिस्नेखोला जोड्ने यो सुरुङमार्ग सञ्चालनमा आएसँगै राजमार्गको घुमाउरो बाटो र जाम हट्नुका साथै यात्रुको झन्डै एक घण्टा समय र इन्धन बचत हुने अपेक्षा गरिएको छ।

जापान सरकारको रु २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब लगानी गरी कुल रु २७ अर्बको लागतमा बनेको यो आयोजना सुरुमा ४२ महिनामा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारी र अन्य जटिलताका कारण केही समय लम्बिन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट