वासिङ्टन डीसी : अमेरिका र इरानबिचको लडाइँ अस्थायी रूपमा रोकिएपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। यो गिरावट अप्रिल ८ यताकै सबैभन्दा ठुलो मानिएको छ।
विश्व बजारको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको वायदा मूल्य ११.३ प्रतिशतले घटेर प्रतिव्यारेल ८५.८७ अमेरिकी डलरमा बन्द भयो। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिव्यारेल ८२.६१ अमेरिकी डलरमा झरेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारको आग्रहमा अमेरिकाले इरानमाथिको सैन्य आक्रमण रोकेको बताएका छन्। उनले नयाँ युद्धविराम सम्झौता हुन नसके अमेरिका पुनः आक्रमणमा उत्रिने चेतावनी पनि दिएका छन्।
युद्धविराम भए पनि विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत अझै युद्धअघिको स्तरमा फर्किएको छैन। सीएनएनले ट्र्याक गरेको ढुवानी तथ्यांकअनुसार सोमबार बिहानसम्म उक्त जलमार्गबाट १० भन्दा कम वस्तुवाहक जहाज मात्र आवतजावत गरेका थिए। युद्धअघि भने दैनिक करिब १०० व्यावसायिक जहाज यही मार्गबाट गुड्ने गरेका थिए।
तेल व्यापारीहरू अर्को जोखिमप्रति पनि सतर्क छन्। इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्देब जलडमरूमध्यमा साउदी अरबका तेल ट्यांकरमाथि आक्रमण गर्न सक्ने आशंकाले बजारमा अनिश्चितता कायम छ।
जर्मनीको डोइचे बैंकका विश्लेषकहरूले सोमबार सार्वजनिक गरेको टिप्पणीमा हुथी आक्रमणले 'खाडी क्षेत्र र लाल सागर दुवै प्रमुख निर्यात मार्ग एकैपटक अवरुद्ध हुन सक्ने सम्भावना' बढाएको उल्लेख गरेका छन्।विश्लेषकहरूले भनेका छन्, 'मुख्य पक्षहरूबिचको युद्धविराम स्वागतयोग्य भए पनि यो निकै नाजुक अवस्था हो, विशेष गरी विभिन्न मोर्चामा अझै द्वन्द्व जारी रहेकाले।'
यसैबिच, अमेरिकी सेयर बजारमा मिश्रित कारोबार भएको छ। सोमबार डाउ जोन्स सूचकांक ०.५१ प्रतिशतले बढ्यो भने एस एन्ड पी ५०० ०.०२ प्रतिशतले उकालो लाग्यो। प्रविधि कम्पनीहरूमा आधारित नास्डाक सूचकांक भने ०.१८ प्रतिशतले घटेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij