काठमाडौँ : बिहान उठ्नेबित्तिकै होस् वा कार्यालयको व्यस्त समय, अधिकांश नेपालीको दिन बाटै सुरु हुन्छ। थकान हटाउने, ताजगी दिने र मुड राम्रो बनाउने पेयका रूपमा चिया लोकप्रिय भए पनि यसको अत्यधिक सेवनले शरीरमा आवश्यक भिटामिन र खनिजको कमी गराउन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।बिहानदेखि साँझसम्म पटक–पटक चिया पिउने बानी छ भने सावधान हुनुहोस्।
चियामा पाइने ट्यानिन र क्याफिनले शरीरमा आवश्यक केही भिटामिन तथा खनिजको अवशोषणमा असर पुर्याउन सक्छ। अत्यधिक चिया सेवनले विशेषगरी भिटामिन बी–१२, आइरन, क्याल्सियम र भिटामिन डीको कमी हुने जोखिम बढाउन सक्छ।
चियाले भिटामिन बी–१२ र आइरनको अवशोषण घटाउँदा थकान, कमजोरी, स्मरणशक्ति समस्या तथा रगतको कमी (एनीमिया) जस्ता समस्या देखिन सक्छन्। खाना खाएलगत्तै चिया पिउने बानीले शरीरमा आइरनको उपयोगमा समेत असर पार्न सक्छ।
त्यस्तै, धेरै क्याफिन सेवनले शरीरबाट क्याल्सियम बाहिरिने प्रक्रिया बढाउन सक्छ, जसले हड्डी कमजोर बनाउने जोखिम बढाउँछ। लामो समयसम्म अत्यधिक चिया सेवन गर्दा हड्डीसम्बन्धी समस्या देखिन सक्ने विज्ञहरू बताउँछन्।
धेरै चिया पिउँदा निद्रामा समस्या, एसिडिटी, ग्यास, कब्जियत तथा मुटुको धड्कन बढ्ने जस्ता समस्या पनि हुन सक्छन्। त्यसैले खाना खाएपछि तुरुन्त चिया नपिउने, कम्तीमा १–२ घण्टाको अन्तर राख्ने र दिनमा २–३ कपभन्दा बढी चिया सेवन नगर्नु उपयुक्त मानिन्छ।
चिया स्वाद र ताजगीका लागि राम्रो पेय भए पनि यसको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। सन्तुलित मात्रामा सेवन गर्दै शरीरलाई आवश्यक पोषणयुक्त आहार दिनु नै स्वस्थ जीवनका लागि महत्वपूर्ण हुन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij