रियाद: विगत पाँच महिनादेखि पश्चिम एसियामा बढ्दो द्वन्द्वबाट आफूलाई टाढा राख्ने प्रयास गरिरहेको साउदी अरब अहिले भने युद्धको केन्द्रतर्फ तानिएको देखिएको छ ।
इरानसँग कूटनीतिक सम्पर्क कायम राख्दै क्षेत्रीय तनाव कम गर्ने नीति अपनाएको साउदी अहिले इरान, इरान समर्थित इराकी सशस्त्र समूह तथा यमनका हुथी विद्रोहीबाट एकैसाथ सुरक्षा चुनौती सामना गरिरहेको छ । पछिल्ला घटनाक्रमले साउदी अरबलाई केवल आफ्नो रक्षा गर्ने अवस्थाबाट प्रत्यक्ष सैन्य कारबाहीमा उत्रिन बाध्य बनाएको विश्लेषकहरूको भनाइ छ ।यही हप्ता यमनका हुथी विद्रोहीले साउदी तेल पूर्वाधारलाई लक्षित गर्दै मिसाइल आक्रमण गरे । त्यससँगै इराकमा सक्रिय इरान समर्थित समूहहरूले ड्रोनमार्फत साउदीका रणनीतिक पूर्वाधार र राजधानी रियादलाई निशाना बनाउने प्रयास गरेका थिए ।
यसबिच इरानबाट आएका चेतावनीपूर्ण अभिव्यक्तिहरूले क्षेत्रीय तनावलाई अझ बढाएको छ । मंगलबार बिहान साउदी अरबले अमेरिकासँग संयुक्त रूपमा इराकको पूर्वी क्षेत्रमा रहेका इरान समर्थित सशस्त्र समूहका अड्डाहरूमा हवाई आक्रमण गरेपछि रियादले अब केवल रक्षात्मक नीति मात्र नअपनाउने स्पष्ट संकेत दिएको छ । साउदी रक्षा मन्त्रालयले यी कारबाही आफ्नो तेल पूर्वाधारमाथि भएका लगातार आक्रमणको प्रतिउत्तर भएको जनाएको छ ।
साउदी अरबले पछिल्लो दशक आफ्नो अर्थतन्त्रलाई तेलमा मात्र निर्भर नराखी विदेशी लगानी आकर्षित गर्ने, पर्यटन विस्तार गर्ने र आधुनिक उद्योग विकास गर्ने लक्ष्यसहित व्यापक आर्थिक रूपान्तरण कार्यक्रम अघि बढाइरहेको छ । यही रणनीतिका कारण उसले इरानसँगको सम्बन्ध सुधार्न प्रयास गरेको थियो । सन् २०२३ मा चीनको मध्यस्थतामा भएको सम्झौतापछि दुई देशबिच कूटनीतिक सम्बन्ध पुनःस्थापित भएको थियो ।
तर अहिलेको युद्धले त्यो रणनीतिलाई गम्भीर चुनौती दिएको छ । क्षेत्रीय अस्थिरताले विदेशी लगानी, पर्यटन, ऊर्जा निर्यात र दीर्घकालीन विकास योजनामाथि नकारात्मक प्रभाव पार्न थालेको छ । सुरक्षा जोखिम बढ्दै जाँदा आर्थिक रूपान्तरणको महत्त्वाकांक्षी कार्यक्रम पनि दबाबमा परेको छ ।
सैन्य विश्लेषकहरूका अनुसार साउदी अरेबियाले अहिले तीन फरक दिशाबाट चुनौती सामना गरिरहेको छ । दक्षिणतर्फ यमनका हुथी विद्रोही सक्रिय छन् । उत्तरतर्फ इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूले ड्रोन तथा अन्य हतियार प्रयोग गरिरहेका छन् । पूर्वतर्फ फारसी खाडीपारि इरानसँग प्रत्यक्ष तनाव कायम छ । साउदी अरबले पछिल्ला वर्षहरूमा आधुनिक लडाकु विमान, मिसाइल प्रतिरक्षा प्रणाली तथा निगरानी प्रणालीमा अर्बौं डलर लगानी गरेको भए पनि देशको विशाल भूभाग, लामो समुद्री तट र देशभर फैलिएका तेल पूर्वाधारको सुरक्षा चुनौतीपूर्ण मानिन्छ ।
हुथी विद्रोहीबाट बढ्दो खतरा
सप्ताहान्तमा हुथी विद्रोहीले लाल सागर किनारमा रहेका दुई साउदी तेल प्रशोधन तथा भण्डारण केन्द्रलाई लक्षित गर्दै मिसाइल प्रहार गरे । उपग्रह तस्बिरहरूले यमनको सीमासँग नजिक रहेको जाजन क्षेत्रमा रहेको एक ऊर्जा केन्द्रमा उल्लेखनीय क्षति पुगेको संकेत गरेका छन् । यसअघि हुथीहरूले लाल सागरमा सञ्चालनमा रहेका दुई साउदी तेल ट्यांकरमाथि पनि आक्रमण गरेका थिए । त्यसपछि उनीहरूले बाब अल–मन्देब जलमार्ग हुँदै साउदी जहाज आवतजावतमा अवरोध गर्ने घोषणा गरे । त्यसपछिका दिनहरूमा अर्को साउदी जहाजमाथि पनि आक्रमण गरिएको दाबी गरिएको छ ।
स्ट्रेट अफ होर्मुज क्षेत्रमा युद्धका कारण जोखिम बढेपछि साउदी अरबले आफ्नो धेरैजसो तेल निर्यात लाल सागरका बन्दरगाहमार्फत गर्न थालेको थियो । विशेष गरी यान्बु बन्दरगाहबाट एसियाली बजारतर्फ जाने मार्ग अहिले साउदीका लागि अत्यन्त महत्त्वपूर्ण बनेको छ । तर बाब अल–मन्देब जलमार्गमा हुथीहरूको गतिविधि बढेपछि यही वैकल्पिक मार्ग पनि जोखिममा परेको छ । विश्लेषकहरूका अनुसार आगामी तीन वर्षभित्र लाल सागरमार्फत दैनिक करिब ९० लाख ब्यारेल तेल निर्यात गर्ने साउदी योजनामाथि अहिले प्रश्न उठ्न थालेको छ ।
विगतको युद्धको सम्झना
साउदी अरेबियाले सन् २०१५ देखि करिब सात वर्षसम्म हुथी विद्रोहीविरुद्ध ठुलो सैन्य अभियान सञ्चालन गरेको थियो । तर त्यो अभियानले अपेक्षित सफलता प्राप्त गर्न सकेन । बरु यमनमा विश्वकै गम्भीर मानवीय संकटमध्ये एक सिर्जना भएको भन्दै अन्तर्राष्ट्रिय आलोचना भयो । सन् २०२२ मा युद्धविराम भए पनि स्थायी शान्ति स्थापना हुन सकेन । हुथी नियन्त्रणमा रहेका क्षेत्रमा साउदी नेतृत्वको नाकाबन्दी कायमै रह्यो ।
यसै महिनाको सुरुवातमा हुथीहरूले राजधानी सनास्थित विमानस्थलमा साउदी हवाई आक्रमण भएको आरोप लगाएका थिए । उनीहरूका अनुसार तेहरानबाट आएको विमानलाई अवतरण गर्न नदिन उक्त आक्रमण गरिएको थियो । सो विमानमा इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिबाट फर्किएको हुथी प्रतिनिधिमण्डल रहेको दाबी गरिएको थियो । यही घटनापछि दुवै पक्षबिच तनाव पुनः तीव्र बनेको विश्लेषण गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij