टोकियो : जापानमा गएकाे शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । मंगलबार क्युशु द्वीपमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पले घर, विद्युत् प्रसारण लाइन तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो ।
उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिको खोजीमा जुटिरहेको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । भूकम्पपछि एउटा सपिङ सेन्टरको केही भाग भत्किएको थियो । त्यसको करिब एक घण्टापछि त्यही स्थानमा विस्फोट हुँदा थप मानवीय क्षति भएको थियो ।
हाल करिब ९ हजार विस्थापित विभिन्न राहत तथा अस्थायी आश्रय केन्द्रमा बसिरहेका छन् भने ३० हजारभन्दा बढी घरधुरी अझै पनि विद्युत् सेवा विहीन छन् । मौसम पूर्वानुमानअनुसार आगामी दिनहरूमा तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने भएकाले अधिकारीहरूले लुबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले बुधबार ३०० वटा एयर कन्डिसनर कुमामोटो पठाइएको जानकारी दिएका छन् । तीमध्ये १५० वटा राहत शिविरहरूमा जडान गरिनेछ । राहत केन्द्रका कर्मचारी युकिया सानोउएका अनुसार उनी कार्यरत केन्द्रमा करिब १ हजार जना बसिरहेका छन्, जसमा करिब ३० प्रतिशत ज्येष्ठ नागरिक छन् ।
भूकम्पपछि केन्द्रमा बिजुली र खानेपानी सेवा अवरुद्ध भएको र बुधबार दिउँसो जेनेरेटर प्राप्त भएपछि मात्र एयर कन्डिसनर सञ्चालन गर्न सम्भव भएको उनले बताए । उनका अनुसार धेरै व्यक्तिमा लु लागे जस्तै लक्षण देखिएका छन् र केहीलाई उपचारका लागि अस्पताल पठाइएको छ । अधिकारीहरूका अनुसार मुख्य भूकम्पपछि १०० भन्दा बढी पराकम्प गएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij