Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन

हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन

काठमाडौँ : नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको छ।

पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। घटनापछि टोलीका सदस्यहरूसँग कुनै सम्पर्क हुन नसकेको बताइएको छ।

बेपत्ता टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपाली आरोहीसहित विभिन्न देशका सदस्य रहेका छन्। हिमपहिरोपछि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

मौसम अनुकूल भएमा खोज तथा उद्धार अभियानका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको र तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि आवश्यक पहल भइरहेको जनाएको छ।

क्लबले हेलिकोप्टर सहयोग सुनिश्चित गर्न तथा उपलब्ध सबै स्रोतसाधन शीघ्र परिचालन गर्न प्रयास जारी रहेको उल्लेख गरेको छ। साथै, बेपत्ता आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई पर्वतारोहणका दृष्टिले चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट