Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एक वर्षमा वायुसेवा निगमले उडायो ४९ हजार यात्रु, ३ वर्षमा ऋणमुक्त हुने लक्ष्य

एक वर्षमा वायुसेवा निगमले उडायो ४९ हजार यात्रु, ३ वर्षमा ऋणमुक्त हुने लक्ष्य

काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा झन्डै ५० हजार यात्रुलाई सेवा दिएको छ । निगमकी प्रवक्ता तथा कर्पोरेट विभाग निर्देशक अर्चना खड्काका अनुसार गत आर्थिक वर्षभरिमा निगमले २९४ उडानमार्फत ४९ हजार ४ सय ६० यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ। पछिल्लो एक वर्षमा टिकट बिक्री गरेर १७ अर्ब ३३ करोड १५ लाख रुपैयाँको व्यापार गरेको जनाएको छ । 

अघिल्लो वर्षको तुलनामा जहाजको सिट उपयोगिता (अकुपेन्सी) दर पनि ७५ प्रतिशतबाट बढेर ८५.४ प्रतिशत पुगेको निगमले जनाएको छ । आम्दानीतर्फ पनि निगमले छोटो समयमै छलाङ मारेको छ। अघिल्लो वर्षको असार महिनामा १ अर्ब ५७ लाख रुपैयाँ आम्दानी गरेको निगमले यस वर्षको असारमा करिब ३२ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ पुर्‍याएको जनाएको छ । 

निगममा पछिल्लो सञ्चालक समिति र कार्यकारी अध्यक्ष आएपछि ठुलो सुधार भएको निगमको दाबी छ । गत जेठ ५ गते निगममा ५ जना र मन्त्रालयका २ प्रतिनिधि गरी ७ सदस्यीय नयाँ सञ्चालकहरू नियुक्त भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद्को असार ३० गतेको बैठकले हवाई उड्डयन क्षेत्रका अनुभवी विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत अधिकारसहित कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो।

३ वर्षमा ऋणमुक्त बनाउने लक्ष्य

अध्यक्ष श्रेष्ठले आगामी तीन वर्षभित्र निगमलाई पूर्ण रूपमा ऋणमुक्त बनाउने र आफ्नै आम्दानीमा चल्न सक्ने आत्मनिर्भर संस्था बनाउने लक्ष्य लिएको बताएका छन् । उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गर्दै खर्च कटौती र आम्दानी बढाउने रणनीति उनले कार्यान्वयनमा ल्याएको उनको भनाइ छ । 

‘निगमको सेवा युरोपसम्म विस्तार गर्दै संस्थालाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक बनाउने मेरो लक्ष्य छ,’ श्रेष्ठले भने–  ‘चुनौतीपूर्ण भए पनि आफ्नो अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धको उपयोग गर्दै निगमलाई आत्मनिर्भर र विश्वसनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्न म प्रतिबद्ध छु।’

व्यवसाय विस्तारकै क्रममा निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु हुन लागेको फ्लाई दुबईको नियमित उडानका लागि आवश्यक ग्राउन्ड ह्यान्डलिङको सम्पूर्ण तयारीसमेत पूरा गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट