Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ग्रीसमा दुई अग्नि नियन्त्रण हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटना

ग्रीसमा दुई अग्नि नियन्त्रण हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटना

काठमाडौँ :  ग्रीसमा डढेलो नियन्त्रणका लागि परिचालित दुई अग्नि नियन्त्रण हेलिकाेप्टर आकाशमै ठोक्किएका छन्। हेलिकाेप्टर आकाशमै ठाेक्किएपछि बेपत्ता भएका चालक दलका चार जना सदस्यको खोजीकार्य  जारी छ।

राजधानी एथेन्सनजिकैको साता क्षेत्रमा आइतबार भएको दुर्घटनामा एउटा हेलिकाेप्टरमा आगो लागेर जमिनमा खसेको भिडियो सार्वजनिक भएको छ। प्रारम्भिक विवरणअनुसार हेलिकाेप्टरका रोटर एकआपसमा ठोक्किएपछि दुर्घटना भएको अनुमान गरिएको छ।दुवै हेलिकाेप्टर ग्रीसका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलो नियन्त्रणका लागि परिचालन गरिएका थिए। पछिल्ला दिनमा डढेलोका कारण ग्रीसमा एक सयभन्दा बढी घर ध्वस्त भएका छन् भने विभिन्न क्षेत्रबाट बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

कोरिन्थको खाडीस्थित पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको अर्को डढेलो नियन्त्रणका लागि करिब पाँच सय अग्नि नियन्त्रक परिचालन गरिएको छ। फ्रान्स र रोमानियाबाट समेत थप उद्धार टोली ग्रीस पुगेका छन्। तीव्र हावाले डढेलो फैलाएपछि आगो सैन्य अभ्यास क्षेत्रमा समेत पुगेको र त्यहाँ विस्फोट नभएका पुराना गोलाबारुद सक्रिय भएको बताइएको छ।

ग्रीससहित फ्रान्स र स्पेन पनि यस गर्मीयाममा असामान्य गर्मी र वर्षाको अभावका कारण भीषण डढेलोसँग जुधिरहेका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र सुख्खापनले यस्ता आगलागीको जोखिम बढाइरहेको बताएका छन्।

स्पेनमा पछिल्लो एक सातामा हजारौँ हेक्टर क्षेत्र डढेलोले प्रभावित भएको छ। केही स्थानमा आगो नियन्त्रणमा आए पनि पुनः सल्किने क्रम जारी छ। फ्रान्सका केही क्षेत्रमा भने डढेलोको अवस्था केही सुधारिएको छ।

युरोपमा गर्मी र खडेरीको प्रभाव नदी तथा ऊर्जा क्षेत्रमा समेत देखिएको छ। हंगेरीमा ड्यान्युब नदीको पानीको सतह अत्यधिक घटेपछि चार दशकयता पहिलोपटक देशको एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गरिएको छ। सर्बियामा पनि ड्यान्युबको जलस्तर ऐतिहासिक रूपमा न्यून भएपछि जलविद्युत् उत्पादन ठुलो मात्रामा घटाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट