नयाँ दिल्ली : रणबीर कपूर, सनी देओल र यश स्टारर फिल्म ‘रामायण’ लाई लिएर विवाद सुरु भएको छ। श्री रामलीला महासङ्घले फिल्मका निर्देशक नितेश तिवारी र प्रोडक्सन कम्पनीलाई पत्र लेख्दै चेतावनी दिएको हो। महासङ्घका अध्यक्ष अर्जुन कुमारले यस दीपावलीमा देश-विदेशमा रिलिज हुनुअघि यो फिल्म आफ्नो प्रतिनिधिमण्डललाई देखाउनुपर्ने माग गरेका हुन्।
फिल्ममा हिन्दुहरूको भावनामा ठेस पुर्याउने खालका धेरै दृश्य हुन सक्ने जानकारी आफूहरूलाई मिलेको महासङ्घको भनाइ छ। विवादित दृश्य नहटाइए हलहरूअगाडि प्रदर्शन गरिने चेतावनी महासङ्घले दिएको छ। यद्यपि यसबारे निर्देशक नितेश तिवारी वा फिल्मको प्रोडक्सन हाउसका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन।
श्री रामलीला महासङ्घका अध्यक्ष अर्जुन कुमारले पत्रमा फिल्मलाई सिनेमाघरमा ल्याउनुअघि विशेष शोमार्फत महासङ्घलाई देखाउनुपर्ने बताएका छन्। फिल्ममा भगवान् राम, रामायणका पात्रहरू वा सनातन धर्मसँग जोडिएको कुनै गलत चित्रण वा संवाद त छैन भन्ने कुरा महासङ्घ सुनिश्चित गर्न चाहन्छ।
निर्माताहरूले आफ्नो माग पालना नगरे दिल्लीसहित देशका अन्य राज्यहरूमा हिन्दु सङ्गठनहरूसँग मिलेर हजारौँ कार्यकर्ताले हलहरूअगाडि विरोध-प्रदर्शन र धर्ना दिने चेतावनी अर्जुन कुमारले दिएका छन्।
महासङ्घले आफ्नो पत्रमा सन् २०२३ मा आएको फिल्म ‘आदिपुरुष’ को उदाहरणसमेत दिएको छ। भूषण कुमारको प्रोडक्सन तथा प्रभास र सैफ अली खान स्टारर उक्त फिल्मका धेरै दृश्यहरूमा सनातन समाज र रामलीलाका मानिसहरूले विरोध जनाएको स्मरण अर्जुन कुमारले गराएका छन्।
त्यो फिल्ममा सुनको लङ्कालाई कालो देखाइएको थियो भने महाज्ञानी रावण र उसको सेनाको चित्रण मङ्गोल लुटेराहरूलगायतका रूपमा गरिएको थियो। विरोधका कारण करोडौँको बजेटमा बनेको त्यो फिल्म बक्स अफिसमा फ्लप साबित भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij