आउँदो भदौ २६ मा रिलिज हुने फिल्म ‘बेहुली’ को विदेशमा उच्च माग बढेको छ। रिलिजअगावै प्रमुख विदेशी बजारको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरहरू अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत जस्ता नेपाली चलचित्रका प्रमुख विदेशी बजारमा चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ। अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको छ। त्यहाँ नेपालकै मिति भदौ २६ मा चलचित्र रिलिज हुनेछ।
त्यसैगरी, अमेरिका र क्यानडा (उत्तर अमेरिका)का लागि चलचित्रको वितरण अधिकार चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसनले लिएको छ। दुबई, कतार र बहराइनलगायतका मध्यपूर्वका देशहरूको वितरण जिम्मा साथीभाइ इन्टरटेन्मेन्टले पाएको छ। अस्ट्रेलिया र उत्तर अमेरिकासँगै मध्यपूर्वमा पनि चलचित्र भदौ २६ मै प्रदर्शनमा आउनेछ।
बेलायतको लागि भने प्रदर्शन अधिकार ९७७ इभेन्ट्सले खरिद गरेको छ। बेलायतमा भने चलचित्र केही साता पछाडि अर्थात् असोज १६ गते रिलिज हुने तय भएको छ।
निर्माण पक्षले चलचित्रको प्रचारप्रसारलाई यति बेला निकै तीव्र पारेको छ। हालसम्म चलचित्रको ‘फर्स्ट लुक पोस्टर’ र पहिलो गीत सार्वजनिक भइसकेको छ। भर्खरै मात्र रिलिज भएको ‘दिलमा ठाउँ छ’ बोलको लोक शैलीको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने इन्टरनेटमा उछाल ल्याएको छ।
रिलिजको केही दिनमा नै यो गीतले करिब तीन मिलियन युट्युब भ्युज तथा करिब ६ लाख टिकटक भिडिओ पाइसकेको छ। चलचित्रका अन्य गीतहरू र ट्रेलर भने सार्वजनिक हुन बाँकी छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस प्रोजेक्टमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसै गरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij