चितवन : भरतपुर महानगर क्षेत्रमा भूमिगत विद्युतीकरण परियोजनाअन्तर्गत निर्माण सम्पन्न भएका ११ केभी क्षमताका भूमिगत तथा ओभरहेड विद्युत् प्रसारण लाइन सञ्चालनमा ल्याउने प्रक्रिया सुरु भएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले मंगलबार बिहानदेखि परीक्षण तथा नियमित सञ्चालनका लागि पहिलो पटक विद्युत् प्रवाह (लाइन चार्ज) सुरु गरेको जनाएको छ।
आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनबाट सुरु हुने लाइन आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा विस्तार गरिएको छ। उक्त क्षेत्रमा निर्माण सम्पन्न भएका भूमिगत तथा ओभरहेड प्रसारण लाइनमा विद्युत् प्रवाह सुरु गरिएको उनले जानकारी दिए।
विद्युत् लाइन पहिलो पटक चार्ज गर्दा सुरक्षा जोखिम हुन सक्ने भएकाले आयोजनाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिलर बक्स तथा अन्य विद्युतीय संरचनालाई नछुन र सुरक्षित दूरी कायम गर्न अनुरोध गरिएको छ।
त्यसैगरी, भूमिगत केवल बिछ्याइएको क्षेत्रमा पैदल यात्रा वा सवारीसाधन सञ्चालन गर्दा सावधानी अपनाउन तथा बालबालिकालाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकलाई आग्रह गरिएको छ। आयोजनाले सम्बन्धित क्षेत्रमा अनुमति बिना उत्खनन, खाल्डो खन्ने, केवल काट्ने वा अन्य कुनै पनि निर्माणजन्य गतिविधि नगर्न समेत अनुरोध गरेको छ।
भूमिगत केवल बिछ्याउने कार्य सम्पन्न भएसँगै भरतपुरमा आधुनिक र सुरक्षित विद्युत् वितरण प्रणाली कार्यान्वयनतर्फ महत्वपूर्ण प्रगति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij