पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिटमा बिहान करिब ३:२१ बजे गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै ज्यान गएको हो।
बकाउ आपतकालीन अवस्था निरीक्षकका अनुसार घटनालगत्तै उद्धार टोली, दमकल, हेभी रेस्क्यु भेइकल र मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली घटनास्थलमा खटाइएको थियो।
तर, उद्धार टोली घटनास्थल पुग्दा दुवै जनाको मृत्यु भइसकेको समाचारमा उल्लेख छ ।
“रेलको टक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिमा जीवनको कुनै लक्षण थिएन,” बकाउ पुलिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई मृत घोषणा गरेको छ।”
प्रारम्भिक जानकारीअनुसार मृतक नेपाली नागरिक हुन्। यद्यपि, उनीहरूको पहिचान भने अझै खुलाइएको छैन। उनीहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रहरी र रेलवे अधिकारीले छानबिन सुरु गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij