चितवन : नेपाली सेनाले चितवनको कालिका नगरपालिकास्थित फायरिङ रेञ्ज क्षेत्रमा के–सिरिज (K Series) हतियारको फायरिङ अभ्यास सञ्चालन गर्ने भएको छ।
नेपाली सेना नं. २ विपद् व्यवस्थापन गण, भरतपुर–चितवनले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गर्दै साउन २५ र २६ गते कालिका नगरपालिका–८, कालिकाकल्याणस्थित सिंहनाथ गण (काठमाडौं) मातहतको फायरिङ रेञ्ज क्षेत्रमा दुई दिन र एक रात फायरिङ अभ्यास सञ्चालन गरिने जानकारी दिएको हो।
सेनाका अनुसार रेजिमेन्ट तालिममा सहभागी शिक्षार्थीहरूलाई व्यावहारिक प्रशिक्षण प्रदान गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको हो।
अभ्यास अवधिभर फायरिङ क्षेत्र तथा आसपासका स्थानीयवासी, सर्वसाधारण र पशुचौपायालाई अनावश्यक रूपमा आवतजावत नगर्न नेपाली सेनाले आग्रह गरेको छ। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सबैलाई तोकिएको क्षेत्रबाट टाढा रहन अनुरोध गरिएको छ।
यसका साथै सम्बन्धित नगरपालिका, वडा कार्यालय, प्रहरी प्रशासन तथा स्थानीय समुदायसँग समन्वय गरी अभ्यास क्षेत्र वरपर मानव तथा पशुचौपायाको आवतजावत नियन्त्रण गर्न सहयोग गर्न सेनाले अनुरोध गरेको छ।
नं. २ विपद् व्यवस्थापन गणका एस–७ तालिम अधिकृत उपसेनानी नरेन्द्रकुमार भुषालद्वारा हस्ताक्षरित पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय चितवन, कालिका नगरपालिका, वडा नं. ८ कार्यालय तथा जुटपानी प्रहरी चौकीलाई समेत पठाइएको छ।
फायरिङ अभ्यास अवधिभर आवश्यक सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गर्न समेत सम्बन्धित निकायसँग अनुरोध गरिएको नेपाली सेनाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij