Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ईपीएस भाषा परीक्षाको आवेदन दिने आज अन्तिम दिन

ईपीएस भाषा परीक्षाको आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२६ का लागि विभिन्न क्षेत्रमा ७ हजार २ सय नेपाली छनोटका लागि आह्वान गरिएको भाषा परीक्षाका लागि ६८ हजार ५५८ बढीको आवेदन परेको छ।

साउन ११ देखि मंगलबार राति १२ बजेसम्म खुला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १०० र वनपैदावार क्षेत्रमा १०० गरी कुल ७ हजार २ सय नेपाली कामदारको लागि आवेदन खुला गरिएको हो।

आवेदन दिनेमध्ये ९ औँ दिन मंगलबार बेलुका ७ बजेसम्म उत्पादनमा लगभग ४८ हजार, कृषि तथा पशुपालन क्षेत्रतर्फ अनुमानित १९ हजार, बाँकी रहेका सेवा क्षेत्रमा ७८० र वन पैदावार क्षेत्रमा ७७८ आवेदन परेको ईपीएस शाखाका सूचना अधिकारी राजकिशोर साहले जानकारी दिए।

आवेदन अनलाइन भएका कारण बुधबारसम्म आवेदक संख्या बढेर ७५ हजारको हाराहारीमा पुग्ने अनुमान छ। यस अघिको अनुभवले कोरिया भाषा परीक्षामा १ लाख ६० हजारभन्दा बढी नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका थिए। यो भाषा परीक्षामा पनि लाखौँ नेपालीले आवेदन दिने अनुमान गरिएको थियो।

पछिल्लो समय दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढाउँदै लगेपछि मासिक औसत करिब एक हजार नेपाली रोजगारीका लागि कोरिया जान थालेपछि नयाँ माग गरिएको हो।

अन्य मुलुकको तुलनामा नेपाली कामदारप्रति कोरियाली रोजगारदाताको आकर्षण बढेसँगै जाने संख्या पनि बढेको छ। सन् २०२६ को तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोरियाले माग बढाउँदै लगेको छ। विगतमा कोरियाले माग संख्या नबढाएको जनाउँदै विभिन्न प्रकारका विरोध तथा धर्ना कार्यक्रम भइरहँदा कोरियाले एक्कासी नयाँ माग खुलाएको हो।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो । यसअघिको आवेदन अनलाइनमार्फत २७ जुलाई देखि २ अगस्टसम्म दिन सकिने जनाइएको भए पनि ३ दिन म्याद थप गरिएको छ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई-९ वा ई-१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने उल्लेख छ।

हाल रोस्टरमा रहेका अधिकांश नेपाली यसै वर्षभित्र कोरिया जान सक्ने अनुमानसहित नयाँ भाषा परीक्षाको आवेदन माग गरिएको हो। परीक्षा आवेदन संख्याका आधारमा भाषा परीक्षाको मिति तय हुने शाखाका कम्प्युटर इन्जिनियर टेकबहादुर खड्काले जानकारी दिए।

कोरियाले नेपालसहित विभिन्न देशबाट वार्षिक पाँच पटक कामदारको माग गर्दै आएको छ। शाखाका अनुसार हाल कृषि तथा पशुपालनतर्फ करिब १ हजार २००, सीबीटी ९कोरिया रिटर्न० तर्फ करिब १ हजार ४०० र उत्पादनमूलक क्षेत्रतर्फ करिब ७ हजार गरी भन्डै ९ हजार ६ सय नेपाली प्रतीक्षासूचीमा छन्।

उनीहरू यही वर्ष कोरिया जान सक्ने अनुमानसहित ७ हजार २ सयका लागि परीक्षा आवेदन माग गरिएको हो। यस वर्ष अझै दुई चरणको माग आउन बाँकी रहेकाले रोस्टरमा रहेका अधिकांश नेपालीले रोजगारीको अवसर पाउने शाखाको अनुमान छ।

नेपालमा ईपीएस भाषा परीक्षा सञ्चालन गर्न लामो समय लाग्ने भएकाले कोरियाले रोस्टर सकिनुअघि नै नयाँ परीक्षा प्रक्रिया सुरु गर्ने अभ्यास गर्दै आएको छ।

आगामी त्रैमासिक माग सेप्टेम्बरमा आउने भएकाले दशैँअघि वा लगत्तै भाषा परीक्षा हुन सक्ने अनुमान गरिएको छ। विदेशी श्रमिकसम्बन्धी कानुनलाई श्रमिकमैत्री बनाउँदै सामाजिक सुरक्षा सुदृढ गरेपछि दक्षिण कोरिया नेपाली युवाका लागि अझ आकर्षक गन्तव्य बनेको छ। दक्षिण कोरियाले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २।९ प्रतिशतले बढाएर प्रतिघण्टा १० हजार ३ सय २० वन निर्धारण गरिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट