Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

माडीमा प्रशासनिक संकट गहिरियो, कर्मचारीले नै मेयर–उपमेयरसँग मागे तत्काल निकास

माडीमा प्रशासनिक संकट गहिरियो, कर्मचारीले नै मेयर–उपमेयरसँग मागे तत्काल निकास

चितवन : माडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अधिकार कानुनविपरीत अर्को कर्मचारीलाई हस्तान्तरण गरिएको भन्दै उत्पन्न विवादले प्रशासनिक संकट थप गहिरिएको छ। विवादका कारण नगरपालिकाको सेवा प्रवाह, कर्मचारी परिचालन र प्रशासनिक नेतृत्व प्रभावित हुन थालेपछि कर्मचारीहरूले नै नगर प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरूसँग कानुनसम्मत निकासको माग गरेका छन्।

माडी नगरपालिका कर्मचारी परिवारको नाममा जारी सामूहिक अनुरोधपत्रमा कर्मचारीहरूले प्रशासनिक नेतृत्वलाई स्पष्ट, वैधानिक र प्रभावकारी बनाउँदै सहज कार्यवातावरण सिर्जना गर्न आग्रह गरेका छन्। उनीहरूले नागरिकलाई प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न जनप्रतिनिधिहरूले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताएका छन्।

केही दिनयता नगरपालिकामा प्रशासनिक नेतृत्व, निर्णय कार्यान्वयन र कर्मचारी परिचालनमा अन्योल कायम रहँदा सेवाग्राहीसँगै कर्मचारीसमेत समस्यामा परेको जनाइएको छ। कर्मचारीहरूले सार्वजनिक रूपमा निकासको माग गर्नु नगरपालिकाभित्रको प्रशासनिक संकट गम्भीर बन्दै गएको संकेतका रूपमा हेरिएको छ।

शिक्षक छनोट विवादबाट सुरु भएको संकट

विवादको सुरुआत साउन ११ गते माडी–९ स्थित जनजागृति आधारभूत विद्यालय, भालुखोलामा शिक्षक छनोट प्रक्रियाका क्रममा भएको घटनाबाट भएको हो। उक्त घटनाको छानबिन गर्न साउन १७ गते बसेको कार्यपालिका बैठकले पाँच सदस्यीय समिति गठन गरेको थियो।

तर साउन १९ गते समितिका पाँचमध्ये तीन सदस्यले राजीनामा दिएपछि छानबिन प्रक्रिया नै अन्योलमा परेको छ। यससँगै समितिको आधारमा अघि बढाइएका प्रशासनिक निर्णयसमेत विवादमा तानिएका छन्।

अधिकार हस्तान्तरणमाथि कानुनी प्रश्न

यहीबीच उपप्रमुख खेमप्रसाद महतोले प्रमुख प्रशासकीय अधिकृतको अधिकार अर्को कर्मचारीलाई दिने निर्णय गरेपछि विवाद थप चर्किएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति, सरुवा वा जिम्मेवारी तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई नभएको कानुनी व्यवस्था छ। त्यसैले उक्त निर्णयको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ।

कर्मचारीहरूका अनुसार प्रशासनिक नेतृत्व कमजोर हुँदा दैनिक सेवा प्रवाह, फाइल कार्यान्वयन, कर्मचारी परिचालन तथा निर्णय प्रक्रियामा समेत समस्या देखिन थालेको छ। उनीहरूले प्रशासनिक संयन्त्रलाई थप कमजोर हुन नदिन तत्काल कानुनी र संस्थागत समाधान खोज्न आग्रह गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको स्पष्टीकरण

प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने आफू व्यक्तिगत कारणले कार्यालयबाट अनुपस्थित नरहेको बताएका छन्।

उनका अनुसार जनप्रतिनिधिहरूकै आग्रहमा छानबिन समितिले काम सम्पन्न नगरेसम्म कार्यालय नआउन भनिएकाले आफू घरमै बसेका हुन्।

"जनप्रतिनिधिबाट नै छानबिन समितिले काम गरुन्जेल घरमै बस्नुस् भन्ने आग्रह भयो। त्यसैले म घरमै छु," भुसालले भने, "मलाई व्यक्तिगत रूपमा बिदा बस्नुपर्ने कुनै कारण छैन। सहज वातावरण बनेको दिनदेखि नियमित रूपमा कार्यालयमा उपस्थित भएर जनताको सेवा गर्न तयार छु।"

भुसालको भनाइले प्रमुख प्रशासकीय अधिकृत कार्यालय फर्कन इच्छुक रहे पनि जनप्रतिनिधिबीचको विवाद र प्रशासनिक निर्णयका कारण नगरपालिकाको नेतृत्व अन्योलमा परेको देखिएको छ।

सेवा प्रवाह प्रभावित हुने चिन्ता

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नगरपालिकाको प्रशासनिक संयन्त्र थप कमजोर बन्दै गएको कर्मचारीहरूको भनाइ छ। उनीहरूले जनप्रतिनिधिहरूलाई संस्थागत जिम्मेवारीलाई केन्द्रमा राखी कानुनसम्मत निर्णयमार्फत तत्काल निकास दिन आग्रह गरेका छन्।

शिक्षक छनोट विवादबाट सुरु भएको माडी नगरपालिकाको विवाद अहिले समग्र प्रशासनिक सञ्चालन, कर्मचारी मनोबल र सार्वजनिक सेवा प्रवाहसँग जोडिएको विषय बनेको छ। समयमै कानुनी तथा संस्थागत समाधान खोज्न नसके सेवा प्रवाह थप प्रभावित हुने र स्थानीय सरकारप्रतिको नागरिक विश्वाससमेत कमजोर बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट