Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

२० दिनपछि बागमतीमा लाइसेन्स सेवा सुरु, नयाँ प्रणाली परीक्षणका रूपमा लागू

२० दिनपछि बागमतीमा लाइसेन्स सेवा सुरु, नयाँ प्रणाली परीक्षणका रूपमा लागू

हेटौँडा । बागमती प्रदेशमा गत २० दिनदेखि राकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ प्रणालीबाट काम सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले तयार गरेको नयाँ प्रणालीको प्रयोग गरेर बागमती प्रदेशमा साउन २१ गतेबाट लाइसेन्सको काम थालिने भएको हो ।

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार मन्त्रीस्तरको निर्णय गर्दै विभागले उपलब्ध गराएको प्रणालीलाई सावधानीपूर्वक संचालन गर्ने र सेवा प्रवाह सुरु गर्ने भएको हो । मन्त्रालयका उपसचिव पुस्करचन्द्र घिमिरेका अनुसार २० दिनदेखि प्रणालीमा देखिएका त्रुटि र स्वास्थ्य परिक्षणको विवादका कारण लाइसेन्सको काम रोकिएको थियो ।

मन्त्रालयले लाइसेन्स प्रणालीमा भएका त्रुटिहरूलाई व्यवस्थापन गर्न विभागमा गरेको पत्रचार पछि केही सुधार भएकाले हाल परीक्षणका रुपमा सेवा प्रवाह सुरु गर्ने तयारी भएको उनले बताए । उनका अनुसार मन्त्रालयले सूचिकृत स्वस्थ्य संस्था तथा चिकित्सकबाट लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था र चिकित्सकहरूको सूची सार्वजनिक गरेको उनले बताए । मन्त्रालयले सर्वोच्च अदालतको अन्तरिम आदेश र मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार नयाँ अनलाइन प्रणालीमा आबद्ध भएका स्वास्थ्य संस्थाहरूको नामावली सार्वजनिक गरेको उनले बताए ।

यसअघि यातायात व्यवस्था विभागले केही निश्चित चिकित्सकहरूलाई मात्र प्रणालीमा आबद्ध गराउने निर्णय गरेपछि विवाद सिर्जना भएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा साउन १२ गते जारी गरेको अन्तरिम आदेशअनुसार पुरानै प्रणालीअनुसार दर्ता भएका चिकित्सकहरूलाई काम गर्न नरोक्न र उनीहरूको युजर आईडी तथा पासवर्ड सुचारु राख्न निर्देशन दिएको हो ।

अदालतको सोही आदेशलाई कार्यान्वयन गर्दै बागमती प्रदेश मन्त्रालयले हाललाई १७ वटा क्लिनिक र कार्यरत चिकित्सकहरूलाई अनलाइन प्रणालीमा सूचीकृत गरी स्वास्थ्य परीक्षणको अनुमति दिएको छ । मन्त्रालयले हेटौंडा, ललितपुर (एकान्तकुना), भक्तपुर, बनेपा, काठमाडौं (चाबहिल र कलंकी) तथा चितवन (भरतपुर) का विभिन्न क्लिनिकहरूलाई अनुमति दिएको छ । जसअनुसार हेटौंडामा सुनिल पोलिक्लिनिक (डा. रबिन्द्र चौरासिया), ललितपुर (एकान्तकुना)मा पृथ्वी मेडिकल हल, फोकसगुडो पोलिक्लिनिक र नाइल मेडिकल सेन्टर, भक्तपुरमा सुनौलो मेडिकल क्लिनिक, रानीवन चेकअप सेन्टर र सेखा क्लिनिक सेन्टर, बनेपामा साइनो मेडिकल सेन्टर, काठमाडौं (चाबहिल)मा जानकी देवी पोलिक्लिनिक, सुस्मिता पोलिक्लिनिक र नेपाल हाउस मेडिकल क्लिनिक, काठमाडौं (कलंकी)मा माछापुच्छ्रे मेडिकल हल, नारायणी स्वास्थ्य क्लिनिक र सागर स्वास्थ्य क्लिनिक, चितवन (भरतपुर)मा ल्होत्से हेल्थ केयर, स्मारिका हेल्थ केयर र नाइल हेल्थ केयरबाट स्वासथ्य परिक्षण गर्न सकिनेछ ।

मन्त्रालयले सर्वोच्चको अर्को आदेश वा सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गराउँदा उल्लेखित सूचीकृत चिकित्सकहरूबाट मात्र गराउन सर्वसाधारणलाई सूचित गरेको छ ।

नयाँ प्रणालीमा समस्या नै समस्या

विभागल तयार गरेको लाइसेन्सको नयाँ प्रणालीमा समस्या निरन्तर देखिएको छ । मन्त्रालयले कार्यान्वयनमा ल्याउन खोजेको नयाँ यातायात व्यवस्थापन प्रणालीमा सेवा प्रवाह, राजस्व संकलन लगायतका क्षेत्रमा प्राविधिक त्रुटि र कानुनी जटिलता देखिएका हुन् ।

मन्त्रालयका उपसचिव घिमिरेका अनुसार विभागले डमी डाटामा परीक्षण गरेर प्रणाली सञ्चालनमा ल्याउनुपर्ने भए पनि रियल डाटामा काम गरिरहेको छ । विभागको कारणले यातायात कार्यलयहरूमा सेवाग्राहीहरूले समस्या भोगिरहेका छन् भने सेवा प्रवाहमा समेत चुनौती भइरहेको उनले बताए ।

विभागले पूर्ण प्राविधिक कन्ट्रोलमा नरहेको अपरिपक्व सिस्टम चलाएर सेवा तथा राजस्व संकलनमा नै प्रभाव पारिरहेको उनको भनाइ छ । प्रणालीमा रहेका समस्याका कारण सेवा प्रवाहमा अवरोध पुगेको र सुरक्षा जोखिम बढेको उनले बताए । लाइसेन्स वितरण तथा नवीकरणका क्रममा देखिएका समस्यहरू समाधान गर्न विभागलाई पत्राचार गरिएको उनले बताए ।

मन्त्रालयले नयाँ प्रणाली पूर्ण रुपमा सञ्चालन गर्न योग्य नभएको निष्कर्ष निकाल्दै विभिन्न १४ बुँदे प्राविधिक र ७ बुँदे सवारी दर्ता प्रणाली सम्बन्धी समस्याहरू औंल्याइएको छ । मन्त्रालयले प्रणालीमा आर्थिक ऐनले तोकेको राजस्वको दर र प्रणालीमा प्रविष्टि गरिएको दरबीच तालमेल नमिलेको र राजस्व बुझाउँदा अनलाइन भुक्तानी नहुने, भए पनि गलत खातामा जाने वा प्रणालीले नदेखाउने जस्ता गम्भीर त्रुटिहरू फेला परेका जनाएको छ ।

प्रणालीको सुरक्षा अडिट नगरिएको र वास्तविक डाटा मै परीक्षण गर्दा सरकारी अभिलेख नष्ट हुन सक्ने जोखिम देखिएको मन्त्रालयको ठहर छ । साथै, एउटा कार्यालयको एडमिनले देशभरका प्रयोगकर्ताको विवरण देख्न सक्ने सुरक्षा कमजोरी समेत औंल्याइएको छ । नयाँ प्रणालीमा पुराना लाइसेन्स नम्बरहरूसँग मेल नखाने गरी नयाँ नम्बर जेनेरेट भइरहेको छ । ट्रायल पास भएकाहरूलाई राजस्व बुझाउन समस्या हुने र फेल भएकाहरूको हकमा समेत त्रुटिपूर्ण विवरण देखिने गरेको छ ।

मेडिकल परीक्षणको सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेश र एनएमसी दर्ता भएका चिकित्सकबाट मात्र परीक्षण गराउनुपर्ने प्रावधानका कारण प्रणाली कार्यान्वयनमा थप जटिलता थपिएको छ भने नयाँ प्रणाली सञ्चालनका लागि कर्मचारीहरूलाई आवश्यक तालिम, युजर म्यानुअल र मार्गनिर्देशन उपलब्ध नगराइएका कारण दैनिक कार्यसम्पादनमा समस्या भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रसँग विवरण मिलान गर्दा समस्या देखिएको र पुराना सवारी चालक अनुमति पत्रको संख्या सफ्टवेयरको ड्यासबोर्डमा निकै कम देखिएकाले डाटा हराएको हुन सक्ने अवस्था रहेको छ ।

मन्त्रालयका उपसचिव घिमिरेका अनुसार प्रणालीमा देखिएका प्राविधिक समस्याहरू समाधान नभई र सुरक्षा सुनिश्चितता नभई प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गर्न सक्ने अवस्था छैन । मन्त्रालयले विभागलाई तत्काल प्राविधिक टोली खटाएर प्रणालीका समस्या समाधान गर्न र प्रणालीलाई सुरक्षित बनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट