Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरान युद्धपछि अमेरिकी हतियार भण्डार रित्तिन थाल्यो, रक्षामन्त्री हेगसेथसँग रिसाए ट्रम्प

इरान युद्धपछि अमेरिकी हतियार भण्डार रित्तिन थाल्यो, रक्षामन्त्री हेगसेथसँग रिसाए ट्रम्प

एजेन्सी : इरानसँग जारी युद्धका कारण अमेरिकी हतियार भण्डारमा दबाब बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री पिट हेगसेथसँग असन्तुष्टि व्यक्त गरेका छन् । अमेरिकी अखबार द वासिङ्टन पोस्टका अनुसार क्याम्प डेविडमा भएको मन्त्रिपरिषद् बैठकपछि ट्रम्पले हेगसेथसँग छुट्टै छलफल गर्दै अमेरिकी हतियार भण्डार कमजोर अवस्थामा कसरी पुग्यो भन्दै स्पष्टीकरण मागेका थिए ।

बैठकबारे जानकार स्रोतलाई उद्धृत गर्दै पोस्टले जनाएअनुसार ट्रम्पले आफूले हतियार अभावको समस्या पहिले नै समाधान भइसकेको ठानेको भए पनि वास्तविक अवस्था फरक देखिएको भन्दै असन्तुष्टि जनाएका थिए । एक स्रोतका अनुसार ट्रम्पले भनेका थिए, “मलाई यो समस्या अगाडि नै समाधान भइसकेको भन्ने लागेको थियो।”

ट्रम्पको प्रश्नपछि रक्षामन्त्री हेगसेथले आफ्नो बचाउ गर्दै हतियार अभावबारे राष्ट्रपतिलाई पर्याप्त जानकारी नदिएको जिम्मेवारी उपरक्षामन्त्री स्टिफन फाइनबर्गमाथि थोपरेको स्रोतहरूको दाबी छ।

वासिङ्टन पोस्टका अनुसार इरानमाथि सैन्य हमला गर्नुपर्ने पक्षमा रहेका हेगसेथले सुरुवातदेखि नै ट्रम्पलाई सैन्य कारबाहीका लागि प्रोत्साहित गरेका थिए। युद्ध छोटो अवधिमै टुंगिने र अमेरिकाले आफ्नो उद्देश्य पूरा गर्न सक्ने विश्वास उनले ट्रम्पलाई दिलाएको बताइएको छ।

तर इरानले आत्मसमर्पण नगरेपछि पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि युद्ध निर्णायक मोडमा पुगेको छैन। उल्टै अमेरिकी हतियार भण्डारमा दबाब बढेको र लामो दूरीका मिसाइल तथा हवाई प्रतिरक्षा प्रणालीका सामग्री घट्दै गएको रिपोर्टहरू सार्वजनिक भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि अमेरिकी हतियार मौज्दात घट्दै गएको रिपोर्ट सार्वजनिक गरेको थियो।

तर ह्वाइट हाउस र पेन्टागनले यी दाबी अस्वीकार गरेका छन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पलाई हेगसेथमाथि पूर्ण विश्वास रहेको बताउँदै आन्तरिक विवाद भएको खबर अस्वीकार गरेकी छन्।

पेन्टागनका मुख्य प्रवक्ता सन पार्नेलले पनि रक्षामन्त्रीले राष्ट्रपतिलाई गलत जानकारी नदिएको र उपरक्षामन्त्रीलाई दोष नलगाएको दाबी गरेका छन्।

उनले हतियार अभाव, आन्तरिक विवाद र इरान युद्धमा रक्षामन्त्रीको भूमिकासम्बन्धी दाबीलाई “काल्पनिक” भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट