Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

माडी नगरपालिकासम्बन्धी समाचारपछि पत्रकार रेशम सापकोटालाई धम्की दिएको आरोप,

माडी नगरपालिकासम्बन्धी समाचारपछि पत्रकार रेशम सापकोटालाई धम्की दिएको आरोप,

चितवन :  माडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी कानुनविपरीत निर्णयबारे समाचार प्रकाशित भएपछि रेसखबरका चितवन संवाददाता रेशम सापकोटालाई फोनमार्फत धम्की र मानसिक दबाब दिने प्रयास भएको आरोप लागेको छ। घटनालाई जिल्ला प्रशासन कार्यालय चितवनले गम्भीर रूपमा लिँदै पत्रकारलाई धम्क्याउने जोसुकैलाई पनि कानुनबमोजिम कारबाही हुने जनाएको छ।

रेसखबरले १८ साउनमा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाललाई कार्यालयमा उपस्थित नहुन भनेको तथा स्थानीय तहको अधिकार क्षेत्रभन्दा बाहिर गएर अर्को कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको विषयमा समाचार प्रकाशित गरेको थियो।

समाचारमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुनी व्यवस्थाअनुसार प्रमुख प्रशासकीय अधिकृतको अधिकार खोस्ने वा अर्को कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई नरहेको कानुनी विश्लेषण समेटिएको थियो। समाचारमा अधिवक्ता कमलमोहन पोखरेल, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिम्मेवारी दिइएका कर्मचारी तथा प्रमुख जिल्ला अधिकारीको धारणा पनि समावेश गरिएको थियो।

समाचार प्रकाशित भएको भोलिपल्ट १९ साउन बिहानदेखि पत्रकार सापकोटालाई विभिन्न व्यक्तिले पटक–पटक फोन गरी दबाब दिएको आरोप छ। सापकोटाका अनुसार बिहान करिब ८ बजेदेखि १०:३० बजेसम्म आएका फोनमा “पीत पत्रकारिता गर्ने”, “तँसँग भेट्नुपर्‍यो”, “माडी आउँदा भेट्नुपर्छ” र “भरतपुर बसेर माडीको समाचार लेख्ने, विचार गर” जस्ता अभिव्यक्ति प्रयोग गर्दै त्रास सिर्जना गर्ने प्रयास गरिएको थियो।

सापकोटाले उक्त समाचार कुनै व्यक्ति वा समूहलाई लक्षित गरेर नभई सार्वजनिक सरोकारको विषयमा उपलब्ध कागजात, कानुनी व्यवस्था र सम्बन्धित पक्षहरूको धारणा समेटेर तयार गरिएको बताए। समाचारप्रति असहमति भए कानुनी उपचार, खण्डन वा आफ्नो धारणा सार्वजनिक गर्ने पर्याप्त माध्यम हुँदाहुँदै धम्की र दबाबमार्फत पत्रकारको कलम रोक्ने प्रयास प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनको भनाइ छ।

यसअघि पनि उपप्रमुख महतोले सरकारी सवारीमा मापदण्डभन्दा बढी इन्धन प्रयोग गरेको विषयमा समाचार प्रकाशित भएपछि आफूलाई विभिन्न माध्यमबाट दबाब दिने प्रयास भइरहेको सापकोटाको आरोप छ।

घटनाबारे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारलाई धम्क्याउने विषयलाई गम्भीर रूपमा लिएको बताए। उनका अनुसार समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउन सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु स्वीकार्य हुन सक्दैन।

उनले भने, “कानुनभन्दा माथि कोही हुँदैन। विधि र कानुनविपरीत भएका कामकारबाहीबारे सत्यतथ्य सूचना सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म हो। समाचारमा असहमति भए कानुनी बाटो अपनाउन सकिन्छ। तर पत्रकारलाई धम्क्याउने, डर देखाउने वा कलम र आवाज बन्द गराउने प्रयास गर्ने जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुन्छ।”

प्रमुख जिल्ला अधिकारी अर्यालले माडी नगरपालिकामा देखिएको प्रशासनिक विवादबारे जिल्ला प्रशासन कार्यालयले निरन्तर निगरानी गरिरहेको जानकारी दिँदै सम्बन्धित पक्षलाई छलफलका लागि बोलाइएको भए पनि उपस्थित नभएको बताए। उनले स्थानीय तहका विवाद संवाद, कानुनी प्रक्रिया र संस्थागत संयमतामार्फत समाधान हुनुपर्नेमा जोड दिँदै कार्यालयमा तालाबन्दी, प्रशासनिक सेवा अवरुद्ध गर्ने तथा विकास निर्माणका काम रोक्ने गतिविधिले सर्वसाधारणलाई नै सास्ती पुग्ने उल्लेख गरे।

पत्रकार सापकोटाले सत्यतथ्य र प्रमाणका आधारमा सार्वजनिक सरोकारका विषय उजागर गर्नु पत्रकारिताको मूल दायित्व भएको उल्लेख गर्दै धम्की र दबाबका बीच पनि नागरिकलाई सुसूचित गराउने जिम्मेवारीबाट पछि नहट्ने बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट