चितवन: मानव बस्ती तथा आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढ्न थालेपछि डिभिजन वन कार्यालय चितवनले क्यामरा जडान र खोर व्यवस्थापन गरेर अनुगमन तथा नियन्त्रण अभियान सुरु गरेको छ।
डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार, मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको निगरानी तथा आवश्यक परे नियन्त्रणका लागि विभिन्न स्थानमा क्यामरा र खोर राखिएको हो। भरतपुर महानगरपालिका–१५ स्थित अविनास पोल्ट्री परिसरमा ‘ट्र्यापिङ’का लागि खोरसँगै क्यामरा जडान गरिएको छ भने नजिकैको बाँसझ्याङ क्षेत्रमा पनि अर्को क्यामरा राखिएको छ।
यसै क्रममा पोल्ट्री परिसरमा राखिएको खोरमा परेको चितुवाको बच्चालाई उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको कार्यालयले जनाएको छ। क्यामरामा कैद भएको दृश्यअनुसार खोरमा बच्चा परेपछि माउ चितुवा र अर्को बच्चा बाहिरै बसेका थिए। त्यस क्षेत्रको झाडी सफा गरिएपछि माउ र अर्को बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरतर्फ गएको अनुमान गरिएको छ। सो क्षेत्रमा पनि अहिले खोर र क्यामरा राखेर नियमित अनुगमन भइरहेको छ।
यस्तै, भरतपुर महानगरपालिका–११ स्थित आँपटारीमा रहेको विद्युत् स्टेशन क्षेत्रमा केही दिनअघि बाघ देखिएको सूचना प्राप्त भएपछि त्यहाँ पनि क्यामरा जडान गरिएको छ। स्थानीयका अनुसार बाघले एक बाख्रा मारेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सुरक्षा निकाय र वन कार्यालयको टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि स्टेशन परिसरको प्रवेशद्वार र भित्री क्षेत्रमा निगरानीका लागि क्यामरा राखिएको हो।
डिभिजन वन कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार हाल तीनवटै स्थानमा क्यामरा जडानसँगै खोरको व्यवस्था गरिएको छ। बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको उनले बताए।
वन्यजन्तु विज्ञहरूका अनुसार शारीरिक रूपमा कमजोर भएका बाघ वा चितुवा तथा बच्चा हुर्काइरहेका पोथी जनावरहरू बच्चाको सुरक्षाका लागि कहिलेकाहीँ जङ्गल बाहिर निस्कने गर्छन्। जङ्गलभित्र अन्य जनावरबाट बच्चालाई जोखिम हुन सक्ने भएकाले उनीहरू मानव बस्ती नजिक आउन सक्ने अनुमान गरिएको छ।
विज्ञहरूका अनुसार जङ्गलभित्र पर्याप्त सिकार गर्न कठिन भएपछि यस्ता हिंस्रक जनावरहरू मानव बस्ती नजिक पुगेर घरपालुवा जनावरको सिकार गर्ने घटनासमेत बढ्दै गएको देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij